काठमाडौं । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास गरेको आरोपमा सोही ठाउँका रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। सोमबार यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिराहामा दुई पक्षबीच छलफल चलिरहेको छ।
कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए। त्यसबारे प्रशासनमा छलफल समेत भइरहेको थियो।
सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेको तर साह परिवारले भने उक्त घर किनेको बुझिएको प्रहरीको भनाइ छ।