विराटनगर । भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट अन्दाजी ४० वर्षीय राजेश भनिने राजन माझीलाई पक्राउ गरेको प्रहरीले दाबी छ ।
गत माघ १६ गते भारत विहारको सोनवर्षा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार अपहरणमा परेका थिए । उनलाई अपहरण गरी नेपाल ल्याएर अपहरणकारीले तीन करोड रुपैयाँबाट बार्गेनिङ गरेको थियो । तर अन्तमा ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुरस्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए ।
सोही गिरोहले गत २ डिसेम्बरमा सोनर्षाकै औषधि व्यवसायी कामेश्वर रायलाई पनि अपहरण गरी नेपाल ल्याएका थिए । उनलाई अपहरणकारीले पाँच दिनपछि ३० लाख रुपैयाँ भारु अर्थात ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर ७ डिसेम्बरमा महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।
यी दुबै अपहरण घटनामा माझीको गिरोहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । फोनमा फिरौती माग्दाको भ्वाइस पनि उसकै रहेको जस्तो देखिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका राजनको विराटनगरमा केही अपराधिक मुद्दा रहेकाले त्यहाँ कारबाही सकिएपछि महोत्तरी ल्याएर शरीर बन्धक मुद्दा चलाइने छ । उनीमाथि अझ अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ ।