संखुवासभा । महिलाको हत्या गरेको आरोपमा संखुवासभाबाट एकजना पक्राउ परेका छन् । संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका–२ घर भएकी राई र शेर्पासँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । २६ बर्षीय बिना कुमारी राई र शेर्पाबिच फागुन १८ गते घरायशी बिषयमा वादविवाद हुँदा रिसको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।