August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

सन्दीप लामिछानेका समर्थकहरूद्वारा प्रदर्शन

काठमाडौं । बलात्कारको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका छन् । ‘सन्दीपलाई न्याय दे’ भन्दै बुधबार माइतीघरमा प्रदर्शन गरिएको हो । 

स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हुन्। ‘क्रिकेट हाम्रो मान हो, सन्दीप हाम्रो सान हो’, ‘सन्दीपलाई जिउँदै मार्न पाइँदैन,पैसामा बिक्ने न्यायालय चाहिँदैन’, ‘सत्यको आवाज सुनिदे, विश्वकपमा चुनी दे’, ‘न्याय मार्न पाइदैन, पेसी सार्न पाइदैन’ भन्ने नारासहित उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍यालीसमेत निकालेका थिए । 

सन्दीपलाई गौसला २६ लाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुर्नरा निवेदन गरेका छन्। लामिछानेको उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

Advertisement

उच्च अदालतले विभिन्न बहानामा सुनुवाइ नगर्दा सन्दीपले मंगलबार आफूलाई फसाइएको बताउदै सामाजिक संजालबाट यो घटना घटेको नभएर घटाइएको बताएका थिए ।

सन्दीपले फेसबुकमा लेखेका थिए, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकि छ। फेरि भन्छु यो घटना घटेको होइन, घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरूसंग म जीवन भर ऋणी रहने छु।’

पछिल्लो पटक लगातार तीन पटक लामिछानेको मुद्दामा पेसी तोकेर पनि उच्च अदालतले सुनुवाइ गरेन। उच्च अदालतले सुुनवाइ नगर्दा सन्दीपले सर्वोच्च अदालत जाने वा सफाइ पाउने भन्ने मौका पाएका छैनन्।

यसैबीच गायिका रचना रिमालले पनि कि सजाय दिनुपर्ने को सफाइ दिनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।