ललितपुर । बारामा विवाहेतर सम्बन्धका कारण एकै परिवारका दुई जनाको विभत्स हत्या भएको छ । प्रेमीसँग मिलेर श्रीमानको परिवारको दुईजनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक राम ईश्वरकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका–७ बन्जरिया टोल बस्ने २७ वर्षीय धर्मेन्द्र महतो धानुक रहेका छन् ।
प्रहरीकाअनुसार सोमबार बिहान परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेका परिवारमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा घरमुली ५० वर्षीय जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । उनीहरूको हाल एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।
घटनाको मुख्य कारण विवाहेतर सम्बन्धबाट सिर्जित घरायसी विवाद रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार आरोपी धर्मेन्द्र महतो धानुक वैदेशिक रोजगारीका शिलशिलामा युएईमा थिए । उनी गत माघ ११ गते नेपाल फर्किएका थिए । तर, नेपाल आएपछि उनी आफ्नो घर परिवारको सम्पर्कमा नगई मनिता देवीसँग मिलेर हत्याको योजना बनाउन सक्रिय भएका थिए ।
घटनापछि फरार रहेका धर्मेन्द्रलाई प्रहरीले विश्रामपुर गाउँपालिका–४ मुसहर्वा नाका हुँदै भारततर्फ भाग्न लागेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस्तै, अर्की आरोपी मनिता देवी मण्डल पनि घटनामा घाइते भएकामा अस्पतालमा उपचार गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध बारा जिल्ला अदालतबाट बिहीबार ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।