November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

हत्या गरिएको अवस्थामा दुई दाजुभाइको शव फेला

काठमाडौं । नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेको छ । जिल्लाको म्यागङमा हत्या गरेर खोलामा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको हो ।

मृतकहरू स्थानीय ३६ वर्षीय सूर्यमान तामाङ र ४३ वर्षीय सोमनाथ तामाङ रहेका छन् । उनीहरू दाजुभाइ भएको प्रहरीले पुष्टि गरेको छ ।

Advertisement

प्रहरीले घटनामा संलग्न आशंकित एक व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ ।

स्थानीयवासीका अनुसार मंगलबार राति गोली पड्केजस्तो आवाज सुनिएको थियो । त्यसैले घटनामा गोली प्रहार भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै विदुरस्थित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले खोलामा गाडिएको अवस्थामा दुवै शव बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।