पाँचथर । स्वर्गीय मनु दुलाल प्रसाई स्मृति अक्षयकोषले पाँचथर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न र जेहनदार ५ जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराएको छ ।
जनसेवा समाज पाँचथर मार्फत सञ्चालन हुँदै आएको कोषले कालिका आधारभूत विद्यालय फालेलुङ ३ की श्रृष्टी राई, सूर्योदय आधारभुत विद्यालय फिदिम २ का सदिक्षा नेपाली र शिक्षा कार्की ,सिद्वेश्वरी मावि फिदिम १३ की रञ्जना नेम्वाङ र फिदिम नगरपालिका वडा नम्बर ५ की लक्ष्मी तुम्बापोलाई छात्रवृत्ति प्रदान गरेको हो ।
२०५० सालमा बाबुआमा, दाजु र दिदीसहित ५ जना अविभावकको एकैसाथ हत्या भएको चर्चित पाँचथरको टिम्बुरे हत्या काण्डमा बाँच्न सफल २ मध्ये एक पात्र मनु दुलालको २०७३ सालमा अमेरिकामा निधन भएको थियो । मनु टिम्बुरे हत्या काण्डमा मारिएका कुबेर दुलाल र सरस्वती दुलालकी छोरी हुन् ।
उनको स्मृतिमा श्रीमान नन्दीकेशर (नरेश प्रसाइ) ले मनु स्मृति अक्षय कोष स्थापना गरेका हुन् । मनुको निधन भएको दिन पार्दै कोषले प्रत्येक वर्षको साउन २९ गते छात्रवृत्ति वितरण गर्दै आएको जनसेवा समाजले जनाएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका उप प्रमुख यामकुमार आङवो ,फालेलुङ गाउँपालिका अध्यक्ष बिर बिक्रम थाम्सुहाङ,फिदिम १३ का वडाध्यक्ष दिलकुमार नेम्वाङ र पत्रकार लक्ष्मी गौतमले स्वर्गीय मनु दुलालको व्यक्तित्वसँगै टिम्बुरे हत्याकाण्डका विषयमा बोलेका थिए ।
जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मनु स्मृति अक्षय कोषका कोषाध्यक्ष गोपिकृष्ण अधिकारीले गरेका थिए ।