August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

गायक सुजन तिगेला लिम्बुले संचालनमा ल्याए ‘होटेल दि आर्ट एट’

काठमाडौं । गायक तथा संगीतकार सुजन तिगेला लिम्बुले ‘होटेल दि आर्ट एट’ संचालनमा ल्याएका छन् । ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पताल नजिक रहेको आफ्नै निवासमा उनले सुविधासम्पन्न होटेल संचालनमा ल्याएका हुन् ।

उद्धाटन समारोहकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भूमिका सुब्बाले रिबन काटेर होटेल उद्धाटन गरेकी हुन् ।

उद्धाटन समारोहमा बोल्दै सुब्बाले आदिवासी विशेष गरी लिम्बु समुदायमा ‘लाहुरे बन्नैपर्छ’ भन्ने सपना तोडिदै व्यवसायीक बन्न थालेको बताईन् । ‘हाम्रो लिम्बु समुदायमा बाउबाजेहरुले पनि भन्नुहुन्थ्यो, व्यवसाय गरेर खानु हाम्रो जिनमा छैन । व्यवसाय गर्छु भन्नेलाई पनि विश्वास गर्ने चलन थिएन । त्यसैले गर्दा विदेशिने चलन पनि छ’, उनले भनिन्, ‘विशेषगरी लाहुरे हुने सपना देख्ने चलन थियो । विस्तारै त्यो क्रमलाई तोडिदै आएको छ ।’

Advertisement

उद्धटान समारोहमा कलाकार तथा मुन्धुमविध यासेली योङहाङले पनि शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा उनले सुजनको प्रयासले सार्थकता पाएको बताए । उनले भने,‘गीतसंगीतमा प्रखर भविष्य बोकेको व्यक्ति, झण्डै पाँच वर्ष भयो सांगीतिक दुनियाँबाट एकाएक हराएको । बीचमा कहीँ भेटिएन । साथी त लुकेर आफ्नो भविष्यको सुरुङ खन्दै रहेछ । यतिबेला चारपाँच वर्षको उसको प्रयासले सार्थकता पाएको छ ।’ अबका कलाकारहरू भावनामा मात्रै बग्न नहुँने, यसरी व्यवसायिक बन्नुपर्ने उनको धारणा थियो ।

तिगेलाले पनि आफू गीतसंगीतबाट भूमिगत रहेर व्यवसायका लागि तयारी गरेको स्वीकार गरे । उनले भने, ‘यो होटल, यो घर निर्माण गर्ने क्रममा मैले तीन वर्ष बढी कालाकारिता क्षेत्रबाट भूमिगत भएर, गीत गाउन छोडेर यो कन्ट्रक्सन निर्माण गरेँ । त्यसैले यसमा मेरो धेरै नै लगाव छ ।’

यस होटेलमा २५ सयदेखि ६ हजारसम्मको डिलक्स् रुम, सुपर डिलक्स् रुमहरू रहेको तिगेलाले जानकारी दिए ।

कलाकर्मीहरू, साहित्यकार, सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न उद्धाटन समारोहमा राजनीतिज्ञ भुपेन्द्र नेम्बाङ, निर्देशक रबि शेर्मा, गायक जेपी नेम्बाङलगायतले बधाई दिएका थिए । कार्यक्रमलाई गायिका सुनिता संयकले संचालन गरेकी थिईन् ।

‘के साह्रो ब्युटी’ गीतबाट सुपरहिट गायकको रुपमा स्थापित सुजनका ‘आमा’, ‘माया नि’, ‘आज तिम्ले गर्दा’,‘डाँडा पारीको गाउँमा’, ‘तिमी फूल बनिदिनु प्रिय’, ‘बाटो मोड्यौ’, ‘हर्पेमा घ्यू’, ‘कसम मन प¥यो’ लगायत दर्जनौं हिट गीतहरू छन् ।