बुल्गेरिया । वैदेशिक रोजगारीका लागि करिब २० महिनाअघि बुल्गेरिया पुगेका नवलपरासीका ३२ वर्षीय सुमन अर्यालको निधन भएको छ । बुल्गेरियाको स्तरा नोभा जागोरा स्थित नोभा जागोरा पल्लिरिया कम्पनीमा कार्यरत अर्यालको गत २५ अप्रिलमा फोक्सोको उपचारका क्रममा हार्ट एन्ड ब्रेन अस्पताल (burgas)मा निधन भएको थियो ।
जर्मनस्थित नेपाली दूतावास र नेपाल सरकारको समन्वयमा सम्बन्धित कम्पनी र गैरआवासीय नेपाली संघ (एनआरएनए) बुल्गरिया, नेपाली समाज बुल्गरियाको सहकार्यमा कानुनी प्रक्रिया पूरा गरी शुक्रबार दिउँसो टर्किस एयरवेजमार्फत शव नेपाल पठाउन लागिएको नेपाली समाज बुल्गरियाका अध्यक्ष सन्जय राईले जानकारी दिएका छन् ।
एनआरएनए बुल्गरियाका संयोजक(बुल्गेरिया प्रतिनिधि) उदयबाबु श्रेष्ठका अनुसार निधन भएका अर्यालको शवलाई नेपाल पठाउनको लागि जर्मन दूतावास र नेपाल सरकारको तर्फबाट कानुनी प्रक्रिया पूरा भए पनि बुल्गरिया सरकारको तर्फबाट कानुनी प्रक्रिया केही समय ढिलाइ भएकोले गर्दा अर्यालको शवलाई समयमै नेपाल पठाउन नसकिएको हो । अहिले सबै कानुनी प्रक्रियाहरू पूरा गरि शव नेपाल पठाउन लागिएको उनले बताए।
मृतक अर्यालका श्रीमती र छोराछोरी रहेका छन् भने पारिवारिक अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए ।