August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

मनीषा कोइरालाको आत्मकथा ‘हिल्ड’ को नेपाली अनुवाद सार्वजनिक

अभिनेत्री मनीषा कोइरालाको आत्मकथा ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ ।

अंग्रेजी संस्करण निकै रुचाइएपछि यसको नेपाली अनुवाद प्रकाशन गरिएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । ‘हिल्ड’ लाई भने मनीषा र नीलम कुमारले लेखेका थिए ।

क्यान्सरबाट निको हुन मनीषाले गरेको संघर्ष र जीवनप्रति उनको दृष्टिकोणलाई पुस्तकमा समावेश गरिएको छ । आइतबार पुस्तकको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले आफूले यो किताब लेख्छु भनेर सुरु नगरेको बताएकी छन् । क्यान्सर लागेपछि भोगेका कुरा किताबमा लेखेर समाजलाई दिन सके आफ्नो जीवन सार्थक हुने ठानेर पुस्तक लेखेको उनको भनाइ छ ।

Advertisement

क्यान्सर लाग्नुभन्दा पहिला आफू धेरै केयरलेस रहेको बताउँदै मनीषा भन्छिन्, ‘अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नु भन्नुभएको थियो । त्यसबेलादेखि मैले क्यान्सर भएपछि भोगेका दुःख र कष्टलाई टिपोट गर्दै आएको थिएँ । र त्यसलाई पछि पुस्तकमा ल्याएकी हुँ ।’