गीता अधिकारी
कला तथा साहित्यको कठिन यात्रामा आफूलाई निरन्तर उज्यालो बनाइराख्न सक्ने कलाकार धेरै हुँदैनन् । तर भोजपुरको पहाडी गाउँ याकुको खाल्ले–मैदानेबाट उठेका जीवन थापा क्षितिज भने आफ्नो प्रतिभा, मेहनत र कलाप्रतिको गहिरो श्रद्धाका कारण नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा एक अलग पहिचान बनाउन सफल भएका छन् । वि.सं. २०५० चैत्र १५ गते जन्मिएका क्षितिजको जीवनयात्रा कुनै सामान्य मोडबाट गुज्रिएको छैन । साधारण परिवार— पिता खण्डमान थापा र माता सरस्वती थापाको ममतामयी छाया र दाजु कुमार थापाको स्नेह छहारीमा हुर्किएका उनी आज अभिनय प्रशिक्षक, लेखक, निर्देशक, कलाकार तथा उद्यमीका रूपमा स्थापित छन् । भोजपुरदेखि राजधानी काठमाडौँसम्मको उनको यात्रा केवल भौगोलिक परिवर्तन मात्र होइन; यो यात्राले नेपालका सयौँ युवा कलाकारका लागि प्रेरणाको नयाँ गोरेटोे पनि देखाएको छ ।
क्षितिजको कला–यात्रा रंगमञ्चबाट सुरु हुन्छ । करिब दुई दर्जन नाटकमा उनी कहिले लेखक बने, कहिले निर्देशक, कहिले गहिरो भावनासँग अभिनय गर्ने कलाकार । ‘बुलन्द’, ‘आधा धर्ती’, ‘भ्रम’ र ‘इतिहास’ जस्ता प्रारम्भिक नाटकहरूले नै उनलाई रंगमञ्चमा परिचित बनाए । समयसँगै उनले सामाजिक यथार्थ, लैङ्गिक संवेदनशीलता, पीडाको स्वरूप र सामुदायिक कथनलाई कलामार्फत व्यक्त गरे— ‘भरिया’, ‘जूनकीरी’, ‘नारी’, ‘चेलीको पीडा’, ‘प्रसूती’, ‘विरासत’लगायतका नाटक त्यसका सशक्त उदाहरण हुन् । उनका नाटकहरूमा कथा मात्र हुँदैन, समाजको चलिरहेको संघर्ष, असमानता र आशाका धुनहरू समाहित हुन्छन् ।
नाटकसँगै उनी चलचित्रको मार्गमा प्रवेश गरे । एक दर्जनजति लघु चलचित्रमा उनले लेखन, निर्देशन र अभिनयको त्रिपक्षीय भूमिकामा आफूलाई उतारे । ‘मिस्टेक’, ‘प्रदेश’, ‘अक्सिटोनिक्स’, ‘सारी बेटा’ र ‘फुर्लुङ’ जस्ता कामले उनलाई भिन्न–भिन्न विधामा पारम्गत बनायो । छोटो कथामा प्रभावपूर्ण दृश्य र भावनालाई कसरी समेट्ने भन्ने कला उनले यी प्रोजेक्टहरूमा मार्फत प्रष्ट देखाएका छन् ।
यसपछि उनी म्यूजिक भिडियोको संसारमा प्रवेश गरे— जहाँ उनको मोडेलिङले दर्शकको मन जित्यो । ‘पानी आउने धारो’, ‘फुल्नै नदिई’, ‘निष्ठुरीले’, ‘नरमाइलो लाग्छ होला’, ‘हरेक साँझ’, ‘आयौ सुस्तरी मनमा’ जस्ता लोकप्रिय भिडियोहरूले उनलाई असल कलाकार मात्र होइन, भावनालाई क्यामेरासँगै श्वास फेर्न सक्ने अनुहारको रूपमा स्थापित ग¥यो । तीन दर्जनभन्दा बढी भिडियोमा देखिएका उनको उपस्थिति दर्शकका लागि निरन्तर नयाँ अनुभव थियो ।
क्षितिजको सिर्जनात्मक विस्तार वेब सिरिज र टेलिसिरियलमै सीमित रहेन । ‘थातथलो’ र ‘हरिशरणम्’ वेब सिरिजमार्फत उनले समकालीन कथनशैलीमा आफ्नै छाप दिएका छन् । ‘चलनचल्ती’ र ‘प्रतिज्ञा’ टेलिसिरियलले भने उनी टेलिभिजन दर्शकको प्रिय पात्र बने । चलचित्र क्षेत्रतर्फ उनले ‘खुल्ला आकाश’ र ‘मझेरी’मा लेखक, निर्देशक तथा अभिनेता बनेर आफ्नो बहुमुखी प्रतिभाको पुनः पुष्टि गरे । तर उनको करियरको निर्णायक अध्याय मानिने चलचित्र हो— ‘अन्तिम पाना’ । विश्वमै एकल पात्रद्वारा अभिनित पहिलो चलचित्रको रूपमा दर्ज भएको यस कृतिले क्षितिजलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको छ । यसकै लागि उनले ग्लोबल अन्तर्राष्ट्रिय अवार्ड– दुबईमा सर्वोत्कृष्ट चलचित्र लेखकको सम्मान पाए ।

क्षितिजले पाएको पुरस्कार र मान–सम्मानको सूची लामो छ । बिन्दाबासिनी म्युजिक अवार्डमा उत्कृष्ट मोडल, सरी बेटामा उत्कृष्ट नायक, जीवन्त कथाहरूमा उत्कृष्ट लेखक, साथै साफँेबगर, याकु, बागमती, अरुण, रामेछापदेखि धनकुटासम्मका सांस्कृतिक संस्थाहरूबाट प्राप्त सम्मानहरूले उनको योगदान कति व्यापक छ भन्ने प्रष्ट पार्छ । तिनै अनुभव, सीप र नेतृत्व क्षमताका कारण उनी आज आरटीआई एण्ड इन्टरनेश्नल नेपालका अध्यक्ष, क्षितिज फिल्मस्का प्रबन्ध निर्देशक र सुनौलो बिहानीमा महासचिवको भूमिकामा छन् । कला, समाज र संस्थागत नेतृत्व— तिनै क्षेत्रमा उनको सक्रियता उत्तिकै प्रभावकारी छ ।
कवि तथा प्राज्ञ शशी लुमुम्बूको प्रेरणाले आफूलाई यस यात्रा लाग्न प्रेरित गरेको बताउने थापाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उपस्थिति दह्रो छ । इलाम राष्ट्रिय लोकनाटक महोत्सवमा कार्यपत्र प्रस्तोता, स्पाईनी व्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायक, दार्जिलिङमा समकालीन चलचित्र लेखन प्रशिक्षक र दुबईमा ग्लोबल अन्तर्राष्ट्रिय अवार्डमा सहभागिता— यी सहभागिताहरूले नेपाली कलाकारले विश्व मञ्चमा कति प्रभावकारी ठाउँ बनाउन सक्छ भन्ने उदाहरण बनेका छन् ।
जीवन थापा ‘क्षितिज’का हरेक कामभित्र एउटा साझा आत्मा भेटिन्छ— समाज, मानवीय संवेदना र कलाप्रतिको असाधारण समर्पण । भोजपुर–याकुको एउटा दुर्गम गाउँ खाल्ले–मैदानेमा जन्मेको एउटा सपनाले आज नेपाली कला–क्षेत्रमा सम्भावनाको नयाँ क्षितिज कोरेको छ । उनी केवल कलाकार मात्र होइनन्; उनी प्रेरणा हुन् । उनी अभावमा पनि साधनाले कला–यात्राको उडान भर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।