November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

बजेट कार्यान्वयन हुनेमा कुनै शंका नगर्दा हुन्छ : अर्थमन्त्री पाैडेल

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पकासाथ बजेट आएको स्पष्ट पारे।

उनले भने,‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु। कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्याे र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ। कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ।’

Advertisement

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए। आर्थिक क्षेत्रमा देखिएका चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै सम्मृद्धिको सपना साकार पार्ने प्रतिवद्धता पनि उनले जनाए।

भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयको अभियानलाई तीव्रता दिएर अघि बढ्ने उनले बताए। ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ। यसमा दुविधा राख्नुपर्ने छैन’ उनले भने। सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पुर्ण सामर्थ्य परिचालन गरिने पनि पौडेलले बताए।

‘निर्वाचनलाई स्वतन्त्र निश्पक्ष ढंगले सम्पन्न गर्न सम्पुर्ण सामर्थ्य परिचालन गरिने छ। निर्वाचनका लागि महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ।’ सरकारले महामारी नविर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए।

सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए। खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको उनले स्पष्ट पारे।

उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पुरा गर्न बजेट ल्याएको स्पस्ट पारे। संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए।

उनले बजेटले वर्तमान चुनौतिहरुलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए। कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको दाबी गरे।