September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

१ अर्बको लगानीमा देशकै ठूलो लिक्विड अक्सिजन प्लान्ट बन्दै

काठमाडौं– रुपन्देहीको सिमरहवामा देशकै ठूलो तरल (लिक्विड) अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। प्लान्टबाट दैनिक ६० मेट्रिक टनसम्म तरल अक्सिजन उत्पादन हुनसक्ने जनाइएको छ।

१ अर्ब रुपैयाँ लगानीान बन्न लागेको उद्योग अबको १० महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा आउने कम्पनीका मालिक शंकर अग्रवालले बताए। ‘उद्योगले अहिले पनि थोरै मात्रामा लिक्विड अक्सिजन भारतबाट आयात गर्दै सिलिण्डर रिफिलिङ गरिरहेको छ,’ अग्रवालले भने, ‘अबको १० महिना पछि आफैं उत्पादन गर्न सकिने गरी संरचना बन्छन्। उद्योगले दैनिक ८ हजार सिलिण्डर रिफिल गर्न सक्छ।’ 

उद्योग सञ्चालनका लागि आवश्यक उपकरहणहरु ल्याउने प्रक्रिया शुरु भइसकेको अग्रवालले जानकारी दिए। भारतबाट आयात गरी लिक्विड अक्सिजन भर्दा महंगो पर्ने भएकोमा अब नेपालमै उत्पादन भएपछि सस्तो मूल्यमा उपलब्ध हुने उनको दाबी छ।

Advertisement

प्लान्टको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाटै प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले कोभिड –१९ महामारीको दोस्रो लहर शुरु भएपछि अक्सिजनको अभाव व्यहोरेको अवस्थामा अहिले देशकै ठूलो अक्सिजन उद्योग स्थापना हुन लागेकोमा खुसी व्यक्ति गरे। 

‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव ग्रस्त बनायो, त्यति बेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौँ,’ प्रधानमन्त्री ओलीले भने । दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक १०० शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको बताए।