August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ : जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।

लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता रु १५ अर्बभन्दा बढी देखिएको छ ।

साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन ।

Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कूल १० करोड ४० लाख २४ हजार ९११ कित्ता शेयर कारोबार भयो । कूल रु ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको शेयर किनबेच भयो ।

साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा देखिएको थियो । सो दिन अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको थियो ।

त्यसदिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए । तर नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो ।