काठमाडौं । दसैंमा घर जानका लागि सरकारले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुँदैछ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
आगामी असोज ११ गतेदेखि दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो । करिब ११ लाख यात्रुले उपत्यका छाड्दैछन् ।
दसैँ तिहारकै लागि उपत्यका छाड्ने र लामो दुरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको उल्लेख छ ।
पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दसैँ तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।









