July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

लम्बाेधर न्यौपानेसहित ६ जनाविरूद्ध सम्पत्ति शुद्धीकरणकाे मुद्दा

काठमाडाैं : भक्तपुरकाे चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसिहत ६ पूर्व सञ्चालक समितिका सदस्यविरूद्ध सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हाे। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले पूर्वअध्यक्ष न्यौपानेलाई १२ करोड ४४ लाख १२ हजार ७५५ रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेकाे अभियोग लगाएको जानकारी दिए।

यस्तै पूर्वसञ्चालक समितिका सदस्यहरू रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७ हजार २११, लबराज भट्टराई २ करोड ७९ लाख ५५ हजार ६ सय, हरिप्रसाद पाण्डेलाई २ करोड ४३ लाख ४९ हजार २०७, सूर्यबहादुर केसीलाई २ करोड ३४ लाख २१ हजार ५ सय र दीपकप्रसाद भट्टराईलाई ३६ लाख ५९ हजार रुपैयाँ शुद्धीकरण गरेकाे अभियाेग लगाइएकाे दाहालले बताए। उनीहरू सबैबाट बिगोको दोब्बर जरिवाना माग गरिएको छ।

Advertisement

कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा न्यौपाने विरुद्ध मुद्दा परेको थियो। न्यौपाने यसअघि ठगी मुद्दामा समेत मुछिइसकेका छन्। उनी विरुद्धको मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ। न्यौपानेले दिएको घुस लिएको कारण नै अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुपरेको थियो।

इञ्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने भन्दै पाठकले अर्का व्यक्तिमार्फत दुई पटकमा ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएको थियो।

न्यौपालेविरुद्ध विशेष अदालतमा समेत घुस खुवाएको आरोपको मुद्दा विचाराधीन छ। उनीहरूले संगठित रूपमा कलेजको रकम हिनामिना गरी सिद्धार्थ बैंकमा छुट्टै खाता खोलेर अन्य बैंकबाट कलेजको रकम सारी खाता र खर्चको अभिलेख नराखी झन्डै ८ करोड रकम हिनामिना गरेको उजुरी परेको विभागले जनाएकाे छ।