September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

नयाँ नक्सासहित रु २ को सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालको नयाँ नक्सा अंकित २ रुपैयाँको सिक्का छाप्न बोलपत्र आह्वान गरेको छ। बैंकले १० लाख थान २ रुपैयाँको सिक्का छाप्नका लागि बोलपत्र आह्वान गरेको हो।

बैंकले डिजाइनिङ, मिन्टिङ, सप्लाई र डेलिभरीसमेत गर्नु पर्ने गरी प्रस्ताव माग गरेको हो। योग्य आवेदकले माघ २७ गतेसम्ममा आवेदन दिन सक्ने जानकारी राष्ट्र बैंकले गराएको छ। राष्ट्र बैंकले अधिकतम ९० लाख रुपैयाँको सीमा नकट्ने गरी बोलपत्र आह्वान गरेको हो। 

नेपाल राष्ट्र बैंकले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्नका लागि तयारी गरेको थियो। यसै क्रममा सोमबार बैंकले दुई रुपैयाँको सिक्का छाप्नका लागि बोलकबोल आह्वान गरेको हो।

Advertisement

गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले एक र दुई रुपैयाँको सिक्का टकमरी गरी चलनचल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको थियो। सिक्कामा लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा थप हुनेछ।