काठमाडौं । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८ चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान गरिएको छ। अरनिको पुरस्कार व्यवस्थापन समितिले २०७८ भरिमा प्रकाशित भएका गैरअवासीय नेपाली लेखकका कृतिहरूमध्ये चीनमा स्थायी बसोवास गर्ने साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’नामक कृतिलाई उत्कृष्ट ठहर गरी वर्ष २०७८ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले बताए।
तामाङ परिवेशमा आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेश मार्फत् गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा कसरी निमुखा ब्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ ।
पुरस्कृत कृति ‘रूइबा’ का लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच उक्त पुरस्कार प्रदान गर्नेछ । उक्त पुरस्कारको राशी नेरु दुइ लाख रहेको छ।
यसअघि समितिले पुरस्कारकालागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ‘रूइबा’ का अतिरिक्त नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्र), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक’ (कविता सङ्ग्रह’ र नरेश राईको ‘तेप्लाय’ (कविता सङ्ग्रह) छनोटमा परेका थिए ।
गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालमा सो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’लाई प्रदान गरिएको थियो ।