म जन्मेँ, हुर्केँ सुदुरपुर्वी नेपालको एक हिमाली जिल्ला सङ्खुवासभामा । जहाँको माटोमा उब्जिएको अन्नपानीले अहिलेसम्म प्राण धानिरहेको छु । मकालु हिमाल र गोरुजुरे पहाड छायाँसँग लुकामारी खेल्दै, उकाली र ओराली गर्दै रनबनमा घाँस दाउरा र मेलापात गरेको सम्झनाले नोस्टाल्जिक हुन्छु । हिउँखोला र सभाखोलामा बल्छी र जाल थापेको सम्झन्छु, खेकुवामा दुवाली फर्काई पौडी खेलेको अहिलेजस्तै लाग्छ ।
हो,म सङ्खुवासभामा जन्मे, त्यहीँ हुर्केँ । मैले सङ्खुवासभाको जरुवा पानी पिएको छु, नून खाएको छु ।
अनेकौं नोस्टाजियाहरू छन्, मेरो जन्मभूमिसँगको प्रगाढ सम्बन्धहरूका । ती नोस्टाल्जियाहरू मसँग घरीघरी जिस्कन आइपुग्छन् । नोस्टाल्जियासँग जिस्कन पाउनुको परमानन्द पनि विचित्रकै छ । यसको स्वाद पनि कस्तो छ भने, अमला खाएर पानी पिउँदाको क्षणजस्तो !
कहिलेकाहीँ नोस्टाल्जियामा यसै टोलाउन पुग्छु, अनि मनसपटमा आउँछन्, अनेकअनेक फ्ल्यासब्याकहरू । आँखा वरिपरि झुमिने ती फ्ल्यासब्याकहरूले मेरा बैशालु वयका सम्झनाहरू गराउँछन् । त्यतिखेरै कवि हरिभक्त कटुवालका हरफहरूले पनि झस्काउँछन्ः
बाँसजस्तै बैँस फुल्यो, कासजस्तै केश
छाडी जाने बैँस पापी नआएकै बेश…
तर वर्तमानमा उभिएर विगतलाई सम्झना गर्दै आगतलाई पर्खिनुलाई जीवनको एउटा स्वभाविक लयका रुपमा लिनुपर्छ । यहीँ लहरमा लहरिदै विगतका तीतामीठा क्षणहरूलाई ताजातरोज बनाउनुमा पनि कम्ति मज्जा आउने होइन ।
बाजेका बैँसालु सम्झना
बैँसको बेलामा स्याल पनि घोर्ले हुन्छ रे ! गाउँघरमा बुढापाकाहरूले भन्ने गरेका हुनाले मैले पनि सुन्दै आएको थिएँ । यस्तो घोर्लेपन ममा पनि गजबैले आएको थियो । बैँसमा शारीरिक र मानसिक हिसाबले ऊर्जामय थियो मेरो विगतका पलहरू । मेरो उमेर भर्खरभर्खरै बैँसालु यौवनतर्फ लम्किदै गइरहेको अवस्थामा थियो । त्यो बेला अग्रजहरूले यसो बेलाबखतमा मौका मिलेको खण्डमा आ–आफ्नोे बैँसको घटनाहरूको बिस्कुन लगाउँदा म पनि कताकता रोमाञ्चित हुन पुग्थेँ । बाजे भन्ने गर्नुहुन्थ्यो,“ए नाथु ! तेरो यो उमेरमा त हामीमा उडेको चरा समात्ने जोस र जाँगर थियो !”
बाजेको कुरा सुनेपछि ठट्यौली पारामा भन्थें, “अनि बाजे, अहिले पनि हुन्छ त समात्नु न ! खै खै हेरौं त ! कसले र केले रोक्छ त ?”
बाजे लामो श्वास तान्दै भन्नुहुन्थ्यो,“यस्ता नाथुलाई के भन्नु हौ ? लाटा, मेरो बैँस अहिलेसम्म नै भएको भए तैंले भनिरहनु पथ्र्यो ?”
बाजेले मभित्र त उत्साहको ऊर्जा भर्न खोजेका थिए । म नाथु चाहिँ उडेको चरा समातेकै हेर्ने चाहना राख्ने । तर म पखेटामा पनि उडेको चरा समात्ने जोशको प्वाँख पक्कै पनि पलाएकै थिए, बाजेको कुरा सुनिसकेपछि ।
यसपछि बिस्तारै बिस्तारै आफैलाई पनि बैंसले च्याप्दै लगेको कताकता महसुस हुन थाल्यो । अनि पाल्न थालियो जुल्फी । अमीर खान स्टाइलमा ओठमुनि दाह«ी राख्न थालियो । चटक्क परेर मिलेको लुगाकपडा लगाएर ठाँटिएर हिँड्ने चाहना बढ्यो । सुन्दर युवती देख्दा अलिअलि सर्माउन थालियो । बोलूँबोलूँ लाग्ने, बोल्न नसके पनि लुकेर पुलुक्क दृष्टि दिने गर्न थालियो ।
ओहो, मेरो वयमा पनि पो बैँस चढ्न थालेको रहेछ !
म परेँ, सानैदेखि बाजे बोजुसँग हुर्के बढेको । अलि ठूलोसम्म पनि बाजेसँग नै सुत्ने गर्थेँ । बाजेको छायाँजस्तै थिएँ म, बाजे जता म पनि पछिपछि । एकदिन बाजेले भन्नुभयो, “ए नाथु, अबदेखि तँ
मसँग नसुत् है, अर्कै ओछ्यान लगाएर सुत् । मैले भन्द्या छु ।”
“किन यसो भनेको हौँ बाजे ? साँच्चिकै भनेको कि त्यत्तिकै ?” मैले बाजेतिर जिज्ञासाको बिस्कुन फिजाएँ । बाजेले पुलुक्क हेरेर भन्नुभयो, “अब तेरो बैँस आयो, लाठे पो भइसकिस् तँ ।”
यसपछि मैले कुनै सवालजवाफ गरिनँ । ओहो, मेरो बैँस आएको मेरा बाजेले कस्तो मज्जाले थाहा पाउनुभएको !
यस्तै बैँसको प्रसङ्गमा भुइँघरे जेठा बढीबाको बारेमा केही कुरा सुनेको हुनाले एकदिन मुड हेरेर सोधे, “बढीबा एउटा कुरा सोधु ?”
यसो राम्ररी नियालेर उहाँले भन्नुभयो, “यो कुमारेको छोरा के भन्छ ?”
“त्यस्तो केही हैन बढीबा ! यसो एउटा कुरा जान्नु मन लागेर हो ।”
“के कुरा भन्न त ! अनि पो भन्छु त”, उहाँले हाँस्दै भन्नुभयो ।
मैले केही सहज महसुस गर्दै सोधें, “साच्चै तपाइँ आफ्नो बैँसमा पहलमान जस्तै हुनुहुन्थ्यो अरे, हो ?”
केही सम्झेँ झैं गरेर भन्नुभयो, “बैँस भनेको बैँस नै रहेछ केटा हो ! त्यो बेला रुख ढल्दैगर्दा काधै थापे पनि थाम्छु जस्तो लाग्ने रे मधेसतिर हुने ठूलो पाटेबाघ नै आएपनि लाप्पा खेल्छु लाग्थ्यो ।
नातामा दाजु पर्नुहुने श्याम याक्खाको कुरा पनि अलि कति गरौँ । उहाँ शारीरिक रूपमा अग्लो फुर्तिलो । धरानबाट गाडी चढेर हिलेमा उत्रेर खाना खाइवरी एकदिनमा पाख्रिबासको बाटो भएर अरुणको अक्करे भिर छिचोल्दै गाउँ आईपुग्नु हुन्थ्यो भन्ने सुनेका थियौँ । पछि सोध्दा भन्नुहुन्थ्यो, तिमीहरू मोरा केटाहरू त लोते हो नि । हिलेबाट हिडेर बैँसमा एकैदिनमा गाउँ आइपुग्थे त्यो बेला ।”
हैट !
हामीलाई भने सुन्दैमा अचम्म लाग्थ्यो । तेत्रो लामो बाटो भएर एकैदिनमा गाउँ आउन सक्ने ती दाई ।
त्यस्तै एकजना फापुङ्गेबाजे भन्ने पनि हाम्रो गाउँमा हुनुहुन्थ्यो । गाउँमा तन्नेरीहरू मिलेर खोलाको बालुवा ल्याई बोरामा पोका पारेर झुन्डियाएर बक्सिङ्ग अभ्यास गर्ने खुब चलन चलेको थियो त्यो बेला गाउँमा ।
त्यो देखेर फापुङ्गे बाजेले तालु टल्काउदै भन्नुभयो, “हेर केटा हो ! फुर्ति गर्नु पर्दैन, यो विक्रमेको बाउ जतिको कोही देखेको छुइनँ ।”
हामीले चासो राख्दै सोध्यौँ, “किन नि बाजे त्यस्तो के देख्नुभयो त ?”
फापुङ्गे बाजेले प्रष्ट पार्दै भन्नुभयो, “कुमारजङ्गले उसको बैँसमा यसो मुड्की हान्दा सालको बोक्रा नै उछिट्याएको मैले देखेको छु त !”
हामी सबै नै चुपचाप रह्यौँ । किनकि बाजे सोझाले ढाट्न जान्दैनथे ।
बाजे नाके स्वरमा यसो भन्दै बाटो लागे, “बैँस भनेको बैँस नै हो ।”
साँच्चै जवानीमा जे खाए पनि मीठो, जे लगाए पनि राम्रो अनि जति काम गरे पनि ज्यानमा थकानको त्यस्तो कुनै अनुभव फिटिक्कै महसुस नहुने । बैँसमा त डर पनि डराएर आफ्नो छेउछाउ नपर्दो पो रहेछ ।
बैँसमा चैनपुर बजार र मेला पनि खुब धाइयो, वाना बिहिबारे बजार त हामी डाँडा गाउँलेहरूलाई पानीको पँधेरोजस्तै थियो ।
कालो काला काठको रातो ठेकी दारको !
घुमीफिरी दिनै आउँछ जोवान एकै बारको…
यो सम्भवतः पन्ना काजीले गाएको गीत होला ! मेरो बाजे चाहिँ घरीघरी यो गीत गुनागुनाउने गर्नुहुन्थ्यो । बाजेलाई सोधेँ, “साच्चै तपाइँलाई यो गीत यति धेरै किन पो मन परेको हो ?”
“नाथु ! यो गीतले मनुखेको जीवन यो दिनकाल झैं फर्केर आउदैन भनेर सत्य कुरा कथेको छ । हाम्रो त बेला र बैँस गयो तेरो त छ राम्रो र असल नै कर्म गरेर देखाउनु है !”
यति भनेर बाजे आफ्नो नोस्टाल्जियातिर फर्कनुहुन्थ्यो ।
साँच्च बैंस सम्झेर ल्याउँदा नोस्टाल्जियातर्फ डुबल्की लगाउँदा
सोल्टीहरूले पनि यसो आशा र भरोसागर्ने बेला भएकोले पनि होला, त्यस समय अहिलेको जस्तो हातहातमा मोबाइल, ईन्टरनेटको पहुँच नहुँदा हरेक कुराहरू चिठीपत्रमा भर पर्नुपथ्र्यो । ओहो, हुलाकी दाईलाई अधैर्यतापूर्वक कुरेर बसेको पनि आजैजस्तो लाग्छ । हुलाकमा चिठी खसाउन वाना बजार पनि खुब धाइयो । कति सोल्टिनीहरूलाई लेखियो चिठी, कुनैको जवाफ आयो कुनैको आएन ।
प्रविधिले फड्को मारिदिदा ती हस्तलिखित चिठीपत्रको अग्र्यानिक सम्झनाहरू पनि एकादेशको कथामा परिणत भएका छन् । समयको चाल पनि थाहापत्तो नदिई सुलुलु चिप्लिएर जानेरहेछ ।
बैंशालु यौवनमा कति मनपरेका सोल्टिनीहरूका कतिपय आँखाले आफूलाई पछ्याउँदा होस वा ती सोल्टिनीहरूको छायाँसँग आफू पुलकीत हुँदा होस, ती सबै सम्झनाको सन्दुकमा सुरक्षित सम्पत्ति हुन पुगेका छन् । आखिर मानिस एउटा बटुवा न हो, जो आफ्नो यात्रामा यात्रारत रहँदा कतिपय सहयात्री हुन्छन्, बीचमा छुटिन्छन्, कसैसँग लामै यात्रा हुन्छ ।
जेन्जी उमेर थियो त्योबेला । उमेर समूहका साथीहरूसँग आउँगमा अर्मपर्म, खेताला, गोठाला गरियो । कृषि र पशुपालन नै हाम्रो वृत्तिको आधार थियो । त्यहीँ वृत्ति चलाउन मानो खाएर मुरी उब्जाउने जोश थियो ।
सोल्टिनी खोज्दै सिद्धकाली मेला
मङ्सिर महिनामा पर्ने बाला चतुर्दशीमा सङ्खुवासभा जिल्लाको विभिन्न स्थानहरूमा मेला लाग्ने परम्परा छ । पाकेको बाली भित्राउने समयको चटारोमा पनि आनन्दै आउँथ्यो । धानको कुन्यु लगाउँदा होस् वा दाइँ गर्दा पनि जोशले हात्ती नै उचाल्ने आँट आउँथ्यो । खेतका गराहरूमा गरिएका कुदामारी, ढुङ्गाको छेलोखेलका रमाइलोहरू बिर्सनै पो कसरी सकिन्छ र ? यी कामहरू तमाम गरेर फेरि बालाचतुर्दशी बजार भर्न जानु छ, सोल्टिनीहरूको दर्शन गर्नु छ । सके आँखा जुधाएर मनसम्म पुगूँला, नसके एक फेरो नजरसम्म लगाउँला ।
हामी माथिल्लो घर र तल्लो घर छिमेकी भए पनि साइनोले मामा र भाञ्जा सँगसँगै हुर्के बढेका दौतरी पनि हौँ । मैले भाञ्जा सम्बोधन गरे पनि उनको नाम प¥यो नारायण सुब्बा । रुख चढ्नमा उनी बाँदरलाई जित्थे । कुदीमारी र फाल्न हान्नुमा कसैले नसक्ने उनलाई । यस्तो फुर्तिलो नारायण भाञ्जाले एक दिन भने,“हाउ मामा, आज चतुरे मेला जाने कि नजाने ?”
ओहो, चतुरे मेला ! नजाने कुरै छैन ।
अब हामी दुई चतुरे मेला भर्न जाने भयौँ । दिउँसोको सल्लाहअनुसार हामी दुई भेट भएपछि घरभन्दा अलिमाथि गाउँतिर उक्लियौँ । हामी मेखराज काकाको घरको सिकुवामा के पुगेका थियौँ, अघि नै डाँडाघरे कान्छा (अमृत याक्खा), किशोर लिम्बू, खत्री साइँला (गणेश खत्री), कार्की जेठा (कृष्ण कार्की) चतुरे मेला भर्न तम्सिएर भेला भइसकेका रहेछन् ।
मेखराज काकाले नाक बजाउँदै भन्नुभयो, “हाउ केटा हो ! ल जाऊँ होइन त अब भारलाङ्ग मेला कि कसो ?”
किशोरले फ्याट्ट भने, “खै हाउ ! नजोङ्ग क्यारे यसपालि भारलाङ्ग ।”
“लौ त केटा हो ! त्यसो भने तिमीहरूको खुसी”, काका खुकुलो हुनुभयो ।
किशोरले भने, “ओ सिद्धकाली मेला पो जोङ हौ कि कसो ?”
साथीहरू पनि कस्ता भने टाढाको मेला हो भने जाने, नजिकको मेला चाहिँ नजाने रे । त्यसपछि हामी सबै सहमति जुट्यो, सिद्धकाली मेला जाने ।
टाढाको मेला भर्नुपर्ने । साँझ पर्न लागिसकेको थियो, अब हामी हतारियौँ । किशोरको प्रस्तावमा अब हामी लाग्यौँ, सिद्धकाली मेला भर्न ।
टाइगर ब्याट्री लाग्ने टर्चलाइट थियो, हामी जिउजनङ्गेसँग । खमारे गाउँको गिरे चौतारोको सिधै ओरालो त्यसपछि हिउँखोलाको पुल तरेर भञ्ज्याङ् खर्कको ठाडो उकालो हुँदै बर पिपल चौतारो भएर
चैनपुर बजारतर्फ नलागी हिटीडाँडाको बाटो उकालो लाग्यौँ । चैनपुर बजार त्यो रातको समय
त्यता नजानुको पनि आफ्नै कारण थियो । देशभर नै माओवादीको सशस्त्र युद्ध चलिरहेको थियो । चैनपुर बजारमा नै तत्कालिन सशस्त्र प्रहरीको प्रमुखमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएपछि नै सशस्त्र प्रहरी बेस क्याम्प स्थापना गरिएको थियो । कृष्णमोहन श्रेष्ठको जन्मस्थल पनि हो, चैनपुर बजार ।
त्यो बखत कफ्र्यु लाग्ने र रातको समय गस्तीमा हिड्ने सुरुक्षाकर्मीको विशेष निगरानीमा परिने जोखिम अलि कम होला भनेर पनि हामीले त्यताको बाटो समाएनौँ । तर रातको समय राज्य र विद्रोहीमध्येका कुनै पनि सेनासँग हाम्रो भेट हुनसक्ने सम्भावना भने छँदै थियो । यद्यपी हामी जवानीको जोशले जोशिएका थियौँ । हाम्रो मनमा डर भने एकरत्ति पनि थिएन ।
सिद्धकाली मन्दिर परिसरमा लाग्ने मेलामा पुग्यौँ । त्यहाँ पुग्दा रातको ११ बजिसकेको थियो ।
सिद्धकाली मन्दिरको बारेमा केही पुरानो किम्वदन्ती रहिआएको छ । महादेवले सत्यदेवीको मृत्युपछिको आफूमा उत्पन्न शोक र पीडालाई सहन गर्न नसक्दा मृत शरीरलाई लिएर पृथ्वीको चक्कर लगाउदा त्यस स्थानमा सत्यदेवीको आँखा नै खस्न पुगेकोले पछि त्यस ठाउँलाई तीर्थधामको रुपमा स्थापित गरी सिद्धकाली मन्दिर स्थापना गरेको किम्वदन्ती हामीले पनि सानै देखि सुन्दै आएका हौँ । मनले चिताएको र मागेको कुरा पूजाआजा र भाकल गरेमा पुग्ने बिश्वासले यहाँ तीर्थालुहरूको घुइँचो लाग्ने गर्छ ।
यहाँ आसपासका गाउँ चैनपुर पोखरी, कोक्सा, खराङ्ग, मादी, मैदाने, बतासे, चितालाङ्ग, माउदेन, बाघा, मामलिङ्ग, पाँचखपन र छेउछाउको गाउँलेहरू सिद्धकाली मेलाका नियमित आगन्तुक हुन् ।
हामी गन्तब्यमा पुगिसक्यौँ । पुग्नेबित्तिकै गणेशले भने, “हौ, केटा हो ! पहिला मन्दिर दर्शन गरौँ है, अनि घुमौँला ।”
“आरे ! आइसकेपछि त गरुङ्ग न त हाउ जोङ्ग” किशोर तम्सिए । उनको ध्याउन्न भने अलि अरुतिरै थियो । फ्याट्टै भनिहाले, “हाउ ! सोल्टीनीहरू नि मेलामा आएको होला है हेरुङ्ग ।”
मैले जवाफ भने,“हाउ ! जाउ न त केटा हो ! यहाँ बसेर कहाँ देखिन्छ त ।” यसपछि कार्की जेठाले भने,“लु लु हिँड केटा हो, धेरै कुरा नगर । ”
यसपछि हामी मेलामा छि¥यौँ ।
सानासाना चोयाले बुनेको चित्राको छानो लगाएको छाप्रो होटलहरू दुई किनारामा थुप्रै उभिएका थिए । झाप्रो होटलमा तोङ्बा, सुँगुरको भुटेको मासु, अन्य तरकारी खाना लगायत परिकारहरू सजाइएका थिए । कतिपय पाल टाँगेर खुद्रा सामनाहरूको बेचिरहेका थिए ।
जवान युवायुवती लगायत अन्य मानिसहरू मेलामा यत्रतत्र नै हिँडिरहेको देखिन्थे । मान्छेहरूको भिडभाडले उत्पन्न घनन आवाजले पनि मेलाको रौनक रोमाञ्चक लाग्थ्यो । लङ्गुरबुर्जा खेलाउनेहरू पेट्रोल मेक्स बालेर घल्याएग घल्र्याक गोटी हल्लाउँदै भन्दैथिए, “ए, आउनुहोस् ,आउनुहोस् ! धन भएको बुद्धि नभएको ल ल है ! रोपे फल्छ परे मर्छ राख्नुहोस है । दाउ खाली ।”
नारायणले भने,“हाउ एकछिन लु डाइस पो खेलुङ्ग होला हौ ।”
सबैजना डाइस खेलतर्फ झुम्न थाल्यौँ । “झन्डी दुई, मुण्डा तीन” भनेर बालमा पैसा थाप्नेहरू जोडले कराए । “हुन्छ परेको दिन्छौँ, बालमा हात चै नहाल्नु है ! ” लङ्गुरबुर्जावाला कराउँदै थियो ।
“आम्मैले होई ! तिमी डाँडा गाउँलेहरू नि आएछ कतिखेर आयो ?”
“हो त हौ नाना ! अलिकति अगाडि आइपुग्यो होई हामी पनि ।”
बैँस र रुपले लाली चढेकी तामाङसेनी तरुनीहरू वाबुन गाउँको थिइन्, उमेरमा केही जेठी जस्तो भएको हुनाले नाना सम्बोधन ग¥यौँ हामीले ।
लङ्गुरबुजा खेलमा निक्कै भुलिएछ । मैले नारायणलाई भने, “भो अब जाऊँ घुम्न ।”
हामी सबै अनि घुम्न थाल्यौँ ।
यस्तैमा अन्दाजी चालीस, पैंतालीस उमेर छेउछाउको ब्यक्तिसँग अचानक, लङ्गुरबुजा खेलेको स्थानमा नै हाम्रो चिनजान हुन गयो । ती ब्यक्ति सभा पोखरी ब्राहविसेतिरको परियार थरका रहेछन् ।
तिनले नारायण र मलाई खाजा खान जाऊँ भनेर कर गरेकोले छाप्रो होटेलमा पुगेर खाजा खाइयो । उनैले पैसा तिरे ।
त्यसपछि उनले प्रस्तावअनुसार लङ्गुरबुजा खेल्दाखेल्दा हामीसँग बोल्ने तामाङसेनीहरूसँग जसरी नि चिनजान गराईदिनुपर्ने भयो उनीसँग । हामी हुँदैन भन्न सकेनौं । मैले जुक्ति लगाउदै भने, “दाइ यहीँ रहनु हामी पिसाब गरेर आउँछौँ ।”
सुइँकुच्चा ठोकेपछि नारायण र म त्यो झन्झट र टन्टाबाट मुक्त भयौँ ।
ती परियार दाई अघि भेटिएका तामाङसेनी नानाहरूसँग परिचय साँट्न चाहन्थे । त्यो काम गराउन उनले हामीलाई राम्रैसँग खाजा खुवाएका थिए । तर हामीले खाजा चाहिँ स्वादैले खायौँ, उनको काम भने हामीले गर्न सकेनौँ ।
केही समय साथीहरूको नजरबाट ओझेलिएका मात्र के थियौँ, साथीहरूको शङ्कालु बने हामीसँग । भन्दै थिए, “अघि भेटिएका सोल्टिनीहरूको पिछा लागेर हरायौ कि क्या हो केटा हो ?”
खत्री साँइलाले भने,“फकाउने र बोल्ने ढङ्ग भएहरूसँग पो बोल्छ र पत्याउछ ।”
हामीले वास्तविकता बतायौँ । किशोरले हास्दै भने, “हा…हा… केटाहरूले त्यसलाई मुर्गा फेला पारेछन् ।”
यसपछि हामी फेरि मेलातर्फ अगाडि बढ्यौँ । यतिकैमा स्याउ झैं रातो गाला, हिउँ झैं गोरी बोलीमा पनि माधुर्यता भएको लिम्बूनीहरूसँग भेट भयो । त्यत्रो गहिरो चिनजान नभए नि केही चिनजान र देख भेट चै अगावै भएको सोल्टीनीहरू नै भएको हुनाले हामीलाई दस औंला जोडेर उनीहरूले भने,“सेवारो है ! सोल्टाज्यूहरू लौ भेटघाट भयुङ्ग कस्तो सञ्जोग पनि जु¥यो ।”
“सेवारो सोल्टीनीहरू, हजुरहरूलाई यसरी भेटनु र दर्शन गर्नु पाउदा त भाग्यमानी ठानेको छुङ्ग है”, हामी पनि के कम ?
त्यसपछि सुरु भयो, पाःलाम गाउँदै हाम्रो धाननाच । कार्की जेठा र खत्री साइँला भने अलि सर्माए । उनीहरू रमिते बने ।
धान नाच्दै थियौँ । बडो रमाइलो भइरहेको थियो । अचानक त्यहीँ बेला मानिसहरूको भिडहरू तितरबितर भयो । भागदौड मच्चियो । पुलिसहरू पनि यताउता कुदेको देखियो । हामी भने यसो साइट लाग्यौँ, भागेनौँ । कोही न कोही आइलाग्ने आईप¥यो भने हामी पछि नहट्ने भन्नेमा थियौं।
यसपछि माहोल बिथोलिएको हुनाले सोल्टीनीहरूसँग धान नाच्ने क्रम नै स्थगित हुन पुग्यो ।
खास केही भएको होइन रहेछ । होहल्ला र भागदौड मात्रै भएको रहेछ । द्वन्द्वकाल थियो, छ्यास्स अलिकति हल्लाले पनि ठूलै रुप लिनसक्ने समय ।
एकराते मेला न हो, झिसमिसे उज्यालोसँगै सकिने अवस्थामा थियो । हामी पनि झिसमिसे उज्यालोसँगै सिद्धकाली मेलाबाट फर्केर चैनपुर बजारमा पुग्दा गणेश कडेल (खत्री साइँला)ले भने हाउ केटा हो ! खाराङमाथि बानेश्वरमा मेला छ जाने हो ?”
“लौ जाऊँ जाऊँ । किन नजाने ?” हामी तम्सिहाल्यौँ ।
अनिदो आँखासँगै बानेश्वर डाँडाको मेला भरेर मात्रै घर फर्कियौँ ।
अहिले केवल यसो सम्झन्छु दिउँसोको बेला पनि घन्टौं लाग्ने बाटोहरू ती उकाली र ओराली अनिदा झर्को नमान्ने आँखाहरू हतपत यसै नथाक्ने उर्जाशिल समय थियो, त्यो हाम्रो ।
के अब ती दिन फेरि फर्किएला ?