August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

स्वर्णिमको स्थापना दिवसमा शरणकुमार राईलाई सम्मान, रेखालाई पुरस्कार

स्वर्णिम सहित्य समाजले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा धरानका अग्रज साहित्यकार शरणकुमार राईलाई सम्मान गरेको छ । गत शनिबार सम्पन्न कार्यक्रममा राईलाई ‘स्वर्णिम साहित्य सम्मान –२०८३’ समर्पण गरिएको हो ।

यस्तै यो वर्षको ‘स्वर्णिम साहित्य पुरस्कार –२०८३’ बेलबारीकि कवि रेखा सुवेदीलाई समर्पण गरिएको छ ।

बराहक्षेत्र –३ नडाहाको टेकाने होटलमा सम्पन्न सो कार्यक्रममा सम्मानित तथा पुरस्कृत राई र सुवेदीलाई प्राज्ञ एवम सुप्रसिद्ध साहित्यकार श्रवण मुकारुङले सम्मान पत्र, ट्रफी र नगदका साथमा ओढाउँदै सम्मान समर्पण गरेका हुन् । सम्मानित राईलाई १० हजार ५ रुपैयाँ र पुरस्कृत सुवेदीलाई ५० हजार ५ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।

Advertisement

कवि/साहित्यकार, कलाकार र समाजसेवीहरूको उत्साहजनक उपस्थितिमा आयोजित उक्त समारोहमा दाताहरुको प्रतिनिधित्व गर्दै इन्द्रकुमारी लिम्बू, बराहक्षेत्रका अग्रज साहित्यकार प्रल्हाद पहरेदार, बराह न.पा. ५ का वडाअध्यक्ष रोहित काफ्ले, बराहक्षेत्र न.पा. ४ का वडाअध्यक्ष आशाराम चौधरी, मातृभाषा विभाग सदस्य हेनसेन याख्खा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानित शरणकुमार राईले आफू जीवित रहँदै यस किसिमको सम्मान पाउँदा जीवनले सार्थकता पाएको महसुस हुने बताए ।
यस्तै पुरस्कृत रेखा सुवेदीले यसरी पुरस्कृत हुँदा आफूलाई जिम्मेवारीको पहाड थुप्रिएको जस्तो अनुभूति भएको बताइन् । यद्यपि यो पुरस्कारले साहित्य सिर्जनामा लागिरहने प्रोत्साहन मिलेको बताइन् ।

कार्यक्रममा लोकगायक तेजिन्द्र गन्दर्भले आफ्ना अनि अहिलेका लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । बल्छी काडैले…, राई माइलाले गाउँ छाड्यो रे …त्यतिखेर आमालाई कस्तो भो… लगायतका गीतहरु प्रस्तुत गर्दै दर्षक दिर्घालाई मनोरन्जन दिँदै भावविह्वल बनाएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि प्राज्ञ तथा प्रसिद्ध साहित्यकार श्रवण मुकारुङले साहित्यले समाज संस्कृति राष्ट्रलाई जोड्ने बताए । मुकारुङले थपे, “गाउँबस्तीमा यति भव्य कार्यक्रम हुनु चानेचुने हैन, यसले के देखाउँछ भने खास साहित्यका पाठक र पारखीहरु गाउँमा छन् भन्ने बुझाउँछ । सम्मान र पुरस्कार पाउनु भनेको समाजको निम्ति अरु योगदान दिन उत्प्रेरित हुनु हो । सम्मानित र पुरस्कृत श्रष्ठा ज्यूहरुलाई बधाई छ ।”

कार्यक्रममाथि प्रकाश पार्ने क्रममा समाजका अध्यक्ष शरण लिम्बुले आउने वर्षबाट ‘स्वर्णिम मातृभाषा साहित्य पुरस्कार’ समेत प्रदान घोषणा गरे ।

समाजकी सचिव एवम स्वर्णिम साहित्य सम्मान तथा पुरस्कार कोषकी सदस्य सविता फागो चोङ्बाङले सहजीकरण गरेको सो कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष लक्ष्मण कटुवालले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष स्वर्णिम साहित्य सम्मान तथा पुरस्कार कोषका प्रमुख कवि प्रकाश दिप्साली राई रहेका थिए ।