‘हजारौं जङ्घारसँग जुधेर
आफ्नो जरालाई बलियो बनाउँछ
कैयौं वर्षको संघर्षपछि
बिहानीको सुनौलो किरणसँगै
सुगन्धित बासनाहरू छरिरहन्छ।
भीरका पाखाहरुमा हाँसिरहेको
अम्लारी फूल, मेरी आमा जस्तै लाग्छ ।’
(सुगन्ध फूलको/ सीमा मादेन)
यस वर्ष बैशाखको सुरुवातबाटै सुरु भयो वर्षा याम । यो झरीले नेपाली जनजीवनमा एक खाले तरङ्ग फैलाइरहेको छ । ‘यो वर्ष रोपाइँ गर्न पाइन्न कि के हो ?’ तर यही बैशाखे झरीले कवि सीमा मादेनले भने जस्तै अम्लारी फुलहरुलाई फुल्नमा मद्दत गरेको हुनुपर्छ । चौपट्टै गर्मीलाई पनि त्यो झरीले शीतलता छरेकोले हुनुपर्छ र नै हिजो चतरामा कवि लेखकहरुको अविस्मरणीय जमघट भयो । अनि कुनै महोत्सवहरुमा जस्तै साहित्यिक सेसनहरू भए । अवसर थियो ‘दोस्रो चतरा साहित्यिक जमघट-२०८३’। ‘स्कुलमा कविता’ विजेता सीमा मादेनका कविताहरू जस्तै सिर्जनामा दिनै भरी रमायो चतरा । चतरामा एउटा तन्नेरी पुस्ताको एउटा साहित्यिक संस्था छ, जसको नाम हो ‘चतरा साहित्यिक मञ्च’ । झट्ट हेर्दा अल्लारे जमात अनि उरान्ठ्याउले जस्ता देखिन्छन् । तर व्यवहारिक र जिम्मेवारीको रुपमा औधी परिपक्व । २२/२३ वर्षका एकै दाँवलका छन् उनीहरू । अर्को सम्झनीय कुरा यो छ कि, यस मञ्चमा महिला अध्यक्ष छिन् । उनी हुन् दीपा मग्राती । उनको नेतृत्वमा विविध खाले कार्यक्रमहरू आयोजना हुँदै आएको छ चतरामा ।
यही निरन्तरताको क्रममा शनिवार उक्त जमघट कार्यक्रम सम्पन्न भयो । जहाँ निर्धक्क साथ सर्जकहरुले मनभरी उकुसमुकुस भएका भावनाहरू एक आपसमा साटासाट गरे । कार्यक्रमको सेसनहरुको नाम नै लोभलाग्दो ढङ्गको । ‘माइला दमाई’ उपन्यासमाथि चर्चा परिचर्चा, कोशी किनाराका मगमगाउँदो नयाँ सिर्जनाहरू, जसलाई स्कुलले जन्मायो (स्कुलमा कविताका विजेताहरुको कविता वाचन), ‘साहित्यिक भूमि’ बराहक्षेत्रमा गजल सेर र धर्तीको पहिलो धाम बराहक्षेत्रमा कवि र कविता ।
कार्यक्रमको थालनीमै माइला दमाईको चर्चामाथि भयो । ‘उपन्यासमा अन्तरजातीय विवाह गर्नेले समाजमा क्रान्तिकारी परिवर्तन ल्याउनुपर्थ्यो’ भन्ने वक्ता कवि एवम् अध्येता दुर्गा बस्नेतको तर्कमाथि लेखकले ‘त्यस्तो त फ्लिममा सम्भव छ यो फ्लिम हैन नि’ भनेर प्रतिवाद गरे । यसमा गाउँ बस्तीको भोगाइलाई जस्ताको त्यस्तै उतार्न खोजिएको जिकिर गरे । कवि सविता फागोले सहजीकरण गरेको कार्यक्रममा प्राध्यापक रमेश काफ्लेले माइला दमाई उपन्यास समाजको मनोविज्ञानसँग नजिक रहेको बताए ।
दोस्रो सेसनमा ‘कोशी किनाराका मगमगाउदा नयाँ सिर्जनाहरु’ अन्तर्गत बराहक्षेत्रमा कलमको माध्यमले आफ्नो सिर्जनाका भविष्य खोजिरहेका नयाँ सर्जकहरुको सिर्जना प्रस्तुत भए ।
‘मौन रातहरुको गहिराइमा पनि
मेरो चेतना जागिरहन्छ
किनकी मैले पराजयलाई
स्वीकार हैन चुनौती ठानेको छु ।
एक दिन यही सपना
मेरो अस्तित्वको अभिलेख बन्नेछ
र समयले पनि स्वीकार्नेछ
कि केही मानिसहरु
सपना देख्न मात्र होइन
इतिहास निर्माण गर्न जन्मिएका हुन्छन् ।’
(सपना/ कविता कोइराला)
कवि विमला श्रेष्ठले सहजीकरण गरेको उक्त सेसनमा कविता कोरालासँगै कञ्चन खत्री, रुपेश पोख्रेल, आर्यन अधिकारी, अप्सना नेपालीले आफ्ना रचनाहरू प्रस्तुत गरे। सो सेसनको रचनाहरुमाथि सप्तकोशी बहुमुखी क्याम्पसमका प्राध्यापक अर्जुन नेपालले आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।


अर्को विशेष सेसन ‘जसलाई स्कुलले जन्मायो’ सेसनमा स्कुलमा कविताका विजेताहरू सबिना बानियाँ र सीमा मादेनले आफ्ना कविताहरू प्रस्तुत गरे । गजलकार सुजन बस्नेतले सहजीकरण गरेको सो सेसनका वक्ता पहिचानवादी कवि/प्राध्यापक राजन इशारा राईले वाचन भएका कविताहरुमाथि धारणा राखे ।
‘चट्याङ पर्यो आँखै अघि तर
आवाज सुनिएन भने जान्नु मरिएछ
चिच्याउदा नाकै अघि तर
रुङ्न बसेकाले सुनेनन भने जान्नु मरिएछ
उच्च र निच विचारले हुन्छ
जात र अनुहारले भेदभाव गरियो भने जान्नु मरिएछ
गलत गर्दैछ आफ्नैले दम्भमा तर
रोकछेक गरिएन भने जान्नु मरिएछ ।’
(जान्नु मरिएछ/युवराज भट्टराई)
यस्तै कविताहरुमा रमाएको धर्तीको पहिलो धाम बराहक्षेत्रमा कवि र कविता सेसनमा जमुना दाहाल, नदी राई, रोमनाथ ढुङ्गेल, युवराज भट्टराई,गोपिकृष्ण ठकुरी र याक्दुहाङ धिरजले आफ्ना कविता प्रस्तुत गरे ।
‘तिमी र म
मारौँला नि बात
धित मरुन्जेल
जबसम्म देखिरहन्छन्
गोधुली साझमा पश्चिमी क्षितिजका रेखाहरु
नबलेसम्म जुनकीरीका बत्तीहरु
पोख्नुछ
मनभरिका वह
मफर्किएका मुग्लाने साहिलाहरुको
रित्तिदै गरेको गाउँहरुको
एक्लिदै गरेको मनहरुको
भत्कदै गरेको घरहरुको
उडौँलानी हौ
यतै कतै
सिमलका भुवा जस्तै बनेर
जबसम्म बासमा अडिदैनन चराहरु
रोकिदैनन् प्रेमिल हावाहरु
हिडौला
बरु वारिपारी
तिमी र म
नजोडिएसम्म किनाराहरु ।’
(नदी राई )
कवि वर्षा भण्डारीले सहजीकरण गरेको उक्त सेसनका कविताहरू माथि वक्ता बराहक्षेत्रका अग्रज कवि प्रल्हाद पहरेदारले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अन्तिम सेसनले चतरालाई गजलमय बनायो । जुन सेसनको नाम थियो ‘साहित्यिक भूमिमा गजल सेर’ गजलकार सुजन बस्नेतले सहजीकरण गरेको सो सेसनमा लक्ष्मण कटुवाल, शारदा निरौला, जीवन सापकोटा र अच्युत भट्टराईले घमकेदार गजलहरु वाचन गरे ।
‘बाँच्न त सबै बाँचेकै छन् बाँच्नुको सार खोज्नुछ मैले
मृत्युुपछि पनि बाँचिरहने आधार खोज्नुछ मैले ।
मरेपछि मिथ्या शरीर आखिर माटोमा मिल्ने हो
साहित्यकाशाभित्र बेग्लै संसार खोज्नुछ मैले ।
प्रकृतिले त आफनो पहिचान आफै बनाउछ भने
यहीँ प्रकृतिमाझ नओइलाउने झार खोज्नुछ मैले।’
(शारदा निरौला )
सिर्जनामय बनेको चतरामा केही गजललाई दर्षक दिर्घाले वान्स मोर भन्नसम्म भ्याए ।
‘चित्र हेरेर चरित्र थाहा हुन्न,
माया लुकेको मित्र थाहा हुन्न।
तिम्रो हाँसोको सुगन्ध मिठो,
बस्छ कतै मनभित्र थाहा हुन्न।
तिम्रो हाँसोको सुगन्ध मिठो,
बस्छ कतै मनभित्र थाहा हुन्न।
अँगालोभित्र बिलाउँदा शरीर,
कहाँ पुग्छ त्यो पवित्र थाहा हुन्न। ‘
(अच्युत भट्टराई )
यी सेसनहरू सुरु हुनुअघि कार्यक्रमलाई शुभकामना दिँदै स्वर्णिम साहित्य समाजका अध्यक्ष शरण लिम्बु , नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि बराहक्षेत्र न.पा. २ का वडाअध्यक्ष होमप्रसाद गौतमले आफू यो कार्यक्रमदेखि निक्कै खुशी रहेको बताउँदै आगामी दिनमा पनि कला/साहित्यको निम्ति आफूले सकेको साथ सहयोग गर्ने बताए ।
चतरा साहित्यिक मञ्चकी सचिव वर्षा भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष सुजन बस्नेतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सभाध्यक्ष मञ्चकी अध्यक्ष दीपा मग्राती रहेकी थिइन् । कार्यक्रम समापन पछि पनि दर्षक दिर्घामा एउटा कविताले राज गरिरह्यो । जुन कविताले कार्यक्रम हलमा पनि सबैको मन जितेको थियो,
‘तिम्रो कवितामा उभिने अजङ्गको बिम्ब
जो सधैँ तिम्रै विरुद्धमा रहन्छ
त्यो म हुँ।
राजनैतिक कारखानामा प्रशोधन भइरहने
अपराधको नायक
म हुँ।
तिमीले थाहै पाउन नसक्ने गैह्रकानुनी धन्दाहरू,
विना शङ्का पत्याइदिने असीमित झूटहरू,
आकाशभन्दा फैलो लोभको आँखा,
सगरमाथाभन्दा अग्लो घमण्ड,
कर्तव्यलाई सम्झनै नसक्ने हठी–दिमाग,
संवेदनाको लासमाथि हाँसिरहने मानवीयता,
सबै–सबै नै म हुँ।
नसोध्नु, सोधी त हाल्यौ
बस्, यत्ति भन्न सक्छु–
आमासँग रहुन्जेल
म सबैभन्दा असल थिएँ।’
(आमाको बारेमा/याक्दुहाङ धिरज)

