August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

युगकवि सिद्धिचरण जन्मजयन्तीमा कविता प्रतियोगिता सम्पन्न, झापाका विवेक प्रथम

धरान । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसरमा आयोजित देशव्यापी कविता प्रतियोगितामा दमक झापाका विवेक दुलाल क्षेत्री प्रथम भएका छन् ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा चौतारी ओखलढुंगा र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ओखलढुंगामा आयोजित ‘ओखलढुंगा कविता उत्सव तथा खुला कविता प्रतियोगिता’मा प्रथम
बनेका दुलालले देशभरबाट प्राप्त दुई सय भन्दा बढी कविका सिर्जनालाई पछि पार्दै ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविताले सो उपाधी चुमेका हुन् । उनले १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

उत्कृष्ट १० कविताहरू वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरू प्रतियोगितामा सहभागी भएका थिए ।

Advertisement

प्रतियोगितामा ‘ऐनामा हराएका फूलहरू’ शीर्षकको कविताका सर्जक झापाकै निकेश डाँगी ‘विक्षिप्त’ द्वितीय र ‘घडी र चक्र’ शीर्षकको कविताका सर्जक काभ्रेपलाञ्चोकका प्रताप चौलागाई तृतीय बनेका छन् । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले युगकविले देखाएको क्रान्तिकारी मार्गको स्मरण गर्दै नगरपालिकाले साहित्यको उत्थानका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा ‘सिद्धिचरणको काव्य चेतना र आजको युवा आवाज’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षक तथा समालोचक युवराज दाहालले वर्तमान एआईको युगमा पनि मानवीय संवेदना र सिद्धिचरणको विद्रोही चेत उत्तिकै सान्दर्भिक रहेको बताए । वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिनुभएका सिद्धिचरण श्रेष्ठले आफ्नो बाल्यकालको सात वर्ष ओखलढुंगामा बिताएका थिए । कार्यक्रममा युगकविले साहित्यमा दिएको योगदानको चर्चा गरिएको थियो । कविता उत्सवमा आमन्त्रित तथा अतिथि कविहरू चन्द्र गुरुङ, हेमन यात्री, सबिता फागोसहित दर्जनौँ स्रष्टाहरूले आफ्ना चोटिला कविता वाचन गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट ५ भित्र पर्न सफल अन्य कविहरूमा खोटाङका अनाम उपेक्षित, सोलुखुम्बुका किशोर बायुङ राई, धनकुटाका विनोद विवश र ओखलढुंगाका पेशल कुमार बराल तथा सुमन दाहाल रहेको सर्जक चौतारीका अध्यक्ष वीरेन्द्र तामाङले जानकारी दिए ।