November 15, 2026, Sunday
२०८३ कार्तिक ३०
1:37:26 pm

दमननाथ ढुङ्गानाको अध्यक्षतामा पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान गठन

२०७८ कार्तिक १७

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन भएको छ । वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा उक्त प्रतिष्ठानको घोषणा गरिएको हो ।

जनकवि दुर्गालाल श्रेष्ठ रसंरक्षकमा गठन भएको उक्त प्रतिष्ठानको उपाध्यक्षमा डा.चुन्दा बज्राचार्य, महासचिवमा डा.ओम गुरुङ, सचिवमा पासाङ शेर्पा र कोषाध्यक्षमा सुम्निमा तुलाधर रहेका छन् । काठमाडौँको शङ्खधर उद्यान (पुरानो रत्नपार्क) भित्र काठमाडौंँ महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै मङ्गलबार उक्त प्रतिष्ठानको घोषणा गरिएको हो ।

उक्त घोषणासभालाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यभन्दा देशको स्वास्थ्यप्रति बढी चिन्ता लिने राष्ट्रिय नेता भएको बताए ।

Advertisement

शाक्यले काठमाडौँको मौलिकता जगेर्ना गर्न धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको जानकारी पनि जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष ढुङ्गानाले देश बनाउने मामिलामा स्व.तुलाधरले राखेको दृष्टिकोणलाई राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताए । पद्मरत्न काठमाडौंले जन्माएको नेता भएको उल्लेख गर्दै उनले आफ्नो राम्रो कामबाट काठमाडौँको छवि नै उठाइदिएको बताए ।