November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

आरक्ष पीडितको समस्या ७ दिनभित्र समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या समाधान हुने बताएका छन् । सोमबार सरकारी निवास बालुवाटारमा काँग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

२० वर्ष अघि देउवा प्रधानमन्त्री भएकै बेला तत्कालीन आरक्ष विस्तारका क्रममा विभिन्न बस्तीका नागरिकहरूलाई विस्थापित गरिएको थियो । २०५८ सालदेखि आजसम्म पनि पुनर्स्थापना नभएपछि पीडितहरू फेरि राज्यलाई दबाब दिन एकपटक काठमाडौं आएको बताउछन् ।

प्रधानमन्त्री देउवाले पीडितको ज्ञापनपत्र बुझ्दै विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाले अब कुनै हालतमा समाधान गर्ने दृढता पनि व्यक्त गरेका छन् । ‘यो राज्य यस्तै छ । कहिले के हुन्छ, कहिले के । केही गर्दा कहिले कोही रिसाउने, कहिले कोही, अब म साँच्चिकै समाधान गर्छु । एक हप्ताभित्र रिजल्ट देखिनेछ ।’, प्रधानमन्त्री देउवाले भने ।

Advertisement

प्रधानमन्त्री देउवाको आश्वासनपछि आरक्ष पीडित संघर्ष समितिले एक सातालाई आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।