November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । इच्छाराज तामाङलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङ सहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो । अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

किङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका नेकपा एमालेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दामा आज दिउँसो सरकारी वकिलहरुको प्रतिउत्तर बहस सकिएको थियो ।

तीन सातादेखि अदालतमा प्रतिवादीको थुन्छेक बयान, निजी वकिलको वकालत भइरहेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो । अब अदालतबाट तामाङ लगायत अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारिकमा रिहा गर्ने आदेश हुन बाँकी रहेकोमा उनलाई न्यायाधीश राजकुमार कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

तामाङ लगायत ४२ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा दर्ता भएको अभियोगपत्रमा तामाङ विरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ । त्यस्तै सङ्गठित अपराध गरेको पुष्टि भएमा ५० प्रतिशत थप कैद र जरिवाना हुनेछ। सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोगपत्रमा तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत माग गरिएको छ ।