काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो ।
पुलिस क्लबका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे ।
पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए । दुवैलाई किशोर महतोले आउट गरेका थिए । त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो । तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको इनिङ्ग्स उकासिएको थियो । दिलीप २३ रनमा आउट भएपछि दीपेन्द्रको मात्र केही चलेन। दिलिप आउट भएपछि रासिद खान ४ रनमै आउट भएका थिए ।
बलिङमा एपिएफका किशोर महतोले ३ विकेट लिए भने अभिनास बोहरा, अमरसिंह रटेउला र दीपक बोहराले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ एक बल खेल्न बाँकी छदा १५७ रनमा अलआउट भयो । उसका लागि अमरसिंह रटेउलाले १५ बलमा २९ रन, लोकेश बमले १५ बलमा २७ रन, सन्दीप जोराले २४ रन, कप्तान शरद भेषवाकरले १९ रन र भुवन कार्कीले १७ रनको योगदान गरे ।
त्यस्तै, बलिङमा पुलिसका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । गुल्शन झाले २ विकेट हात पारे ।