काठमाडौं । धनगढीमा मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बनमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले अदालतको अन्तिम फैसला नआउन्जेलसम्म उनीहरूलाई निलम्बन गरेको बताए ।
अहिले उनिहरुलाई अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
माघ ५ गते धनगढीको मोबाइल ग्यालरीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरी टोली पुगेको थियो । त्यस क्रममा तीन जना लागुऔषध कारोबारी ब्राउन सुगरसहित समातिएका थिए । सोही क्रममा प्रहरी टोलीमा गएका माल र बुढाले एक–एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।