November 15, 2026, Sunday
२०८३ कार्तिक ३०
1:37:26 pm

१२ वर्षीय मन्टु कुर्मीको हत्यामा संलग्न एकै परिवारका पाँच जना पक्राउ

पर्सा । जगरनाथपुर गाउँपालिका–६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् । उनीहरुमध्ये गोवरी राउत, नग राउत र शत्रुधनलाई शनिबार तथा मनमोहन र रोहनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका–६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो घाँटी थिचेर हत्या गरी फालेको अवस्थामा मन्टुको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका–६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पुरानो मुद्दाको रिसइबीका कारण मन्टुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृतक मन्टुका बुबा नागेश्वर प्रसाद कुर्मीले दिएको किटानी जाहेरी तथा अनुसन्धानबाट हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पाँच जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।