July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

सडक पेटी अतिक्रमण हटाउन मन्त्री झाँक्री आफै सडकमा

काठमाडौं । सडक पेटी अतिक्रमण हटाउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफै सडकमा उत्रिएकी छन् । धोबीखोला कोरिडोरको अतिक्रमित सडक पेटी खाली गराउन उनी आफैँ सडकमा उत्रिएकी हुन् ।

मन्त्री झाँक्रीको नेतृत्वमा बिहीवार अनामनगरबाट अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्रीसँगै महानगरीय प्रहरी, कामपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरूको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको छ ।

मन्त्रालयका अधिकारीका अनुसार सडकपेटीमा थुपारिएको निर्माण सामाग्री नियन्त्रणमा लिई गुहेश्वरीमा रहेको खाली जग्गामा लगिएर राखिनेछ भने सम्बन्धित व्यक्ति लिन आएपछि एकपटकलाई फिर्ता दिइनेछ ।

Advertisement

मन्त्रालयले सडकपेटी खाली गराउन १५ दिनअघि लिखित् एवम् मौखिक सूचना दिए पनि खाली नगरिएपछि मन्त्री आफैँ फिल्डमा आएर खाली गराउन परेको बताएको छ ।

धोबीखोला कोरिडोर अन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाँक्रीले बताएकी छन् । अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरूमा पनि सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको छ ।