भरतपुर । चितवनमा ३६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको गाउँव्लकमा रहेका भूमिहीनहरुलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आज लालपूर्जा वितरण गरेकी छन्।
देशभरका गाउँव्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने मन्त्रालयको लक्ष्य रहेकोमा उक्त अभियान अन्तर्गत हालसम्म करिब १२ हजार घर परिवारलाई लालपूर्जा वितरण गरी सकिएकोे मन्त्री श्रेष्ठले जानकारी दिइन् ।
उनले भूमिहीन दलित, भूमिहीन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग सम्झौता गर्ने बताइन्। मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्धता व्यक्त गरिन्।
श्रेष्ठले विसं २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई वितरणमा जोड दिँदै आएकी छन्।
राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्न सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ।