November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

इलामको सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित उडान हुने

काठमाडौं । इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित उडान गर्ने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले साताको दुई पटक उडान गर्ने भएको हो ।

तारा एयरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाका अनुसार विमानस्थल निर्माण प्रक्रिया सुरु भएको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले आइतबार र बिहीबार काठमाडौंदेखि सुकिलुम्बा उडान भर्न लागेको हो ।

धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमित उडान हुन लागेको हो ।

Advertisement

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि वि.सं. २०७५ जेठ २१ गते तारा एअरको ट्विनेटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ ।