काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै बुधबार राष्ट्रपति भण्डारीले ट्विट गरेकी छन् । राष्ट्रपति भण्डारी लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन् ।
त्यस्तै, प्रधानमन्त्री देउवाले पनि लामाको निधनप्रति सामाजिक सञ्जालमार्फत् दुख व्यक्त गरेका छन् ।
‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ, दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन् ।
६६ वर्षीय लामा बुधबार बिहान भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि बिहान मृत फेला परेका थिए ।
प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङ’मा सहभागी हुन भनेर बौद्ध गएका थिए । राति बौद्धबाट फर्किएका लामा आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा एउटा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीले शवको पोष्टमार्टम गर्न दुवाकोटस्थित केएमसी अस्पताल पठाएको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।