November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

पशुपति धर्मशालामा बतासले चलाएको होटलमा ताला, पाहुना भित्रै थुनिए

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दको गेटमा ताला लगाएको छ । बतास समुहका होटल आनन्दका कर्मचारीले होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

होटल सिल गर्न गएको सरकारी टोली र होटलका कर्मचारीबीच करिब २ घण्टा जति घम्साघम्सी चलेको थियो । त्यसपछि पनि भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाई गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

बतास समुहका प्रतिनिधिले सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा गेट लगाइदिएका थिए । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका थिए भने होटलमा पाहुना भित्र थुनिएका छन् ।

Advertisement

कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न बतास समूहका प्रतिनिधिले आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको थियो ।