November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कांग्रेसले गर्‍यो चुनावी अभियान घोषणा

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ।

शनिबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सो अभियान सुरु गर्ने जानकारी गराएको हो।

जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरूबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी सो अभियान संचालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

Advertisement

‘अहिले ‘जनताको साथमा काँग्रेस’ अभियान आउँदो भदौ १० गतेदेखि संचालन हुन्छ। त्यसपछि दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने कार्यक्रम हुन्छ। त्यसपछि निर्णायक उम्मेदवारहरू चयन भएपछि १६५ वटै संघको निर्वाचन क्षेत्र र ३३० वटा प्रदेशको निर्वाचन क्षेत्रमा चुनावी प्रचार अभियानको कार्यक्रम हुन्छ। हामीले मूलतः यो अभियान जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र त्यसलाई आत्मासात गर्ने र सँगसँगै नेपाली काँग्रेसको नेतृत्वमा हामीले के–के काम गर्‍यौं? के कस्ता उपलब्धि भए? र आउने दिनमा के कार्यक्रम छन्? भनेर प्रस्तुत गर्छौ’ उनले भने। 

उनका अनुसार सो अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिहरू सबै जिल्लामा सहभागी हुनेछन्। उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सो अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन्। 

‘चुनावी तालमेल गरेर जाने भनेका छौं। यस विषयमा पनि त्यहाँ जानकारी लिने, परिस्थिति  बुझ्ने र यसको आवश्यकताको बारेमा पनि हामी चर्चा, परिचर्चा गर्ने र त्यो किसिमको माहौल बनाउने अभियानको मूल उद्देश्य हुनेछ’ उनले भने, ‘७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यहरु परिचालित हुनुहुनेछ। भोलि नै पार्टी सभापतिको उपस्थितिमा उनीहरुलाई अभिमुखीकरण कार्यक्रम हुन्छ। केन्द्रीय प्रतिनिधिहरू सबै जिल्ला गएर जिल्ला कार्य समितिको बैठक राखेर विभिन्न तहलाई परिचालन गरी सो अभियानलाई सफल बनाउने योजना तय गर्नेछ।’

सत्तारुढ गठबन्धन बीचको सिट बाँडफाँडको टुंगो लगाउने काम कठिन नभएको महतले बताए। निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै ‘विन-विन ’ हुने गरी त्यसको टुंगो लगाउने बताए।