काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । बैशाख १० गते निर्वाचन हुँन लागेको बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा निर्वाचन हुँदैछ ।
गृहमन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिने जानकारी दिएको छ ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा उनको सांसद पद गएपछि प्रतिनिधि सभा सदस्य रिक्त बनेको थियो । गत माघ २९ गते निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।
चितवन क्षेत्र नम्बर २ मा पुनः रास्वपाबाट रबि लामिछाने उम्मेदवार रहेका छन् भने एमालेबाट रामप्रसाद न्यौपाने र सत्ता गठबन्धनबाट काँग्रेसका जीतनारायण श्रेष्ठ उम्मेदवार छन् ।
यस्तै, फागुन २५ गते राष्ट्रपतिको निर्वाचन र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनपछि तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ पनि रिक्त बनेको थियो ।
बैखाश १० मा हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाबाट स्वर्णीम वाग्लेले उम्मेदवारी दिएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल र काँग्रेसको तर्फबाट गोविन्द भट्टराई उम्मेदवार बनेका छन् ।
यस्तै, बारा क्षेत्र नम्बर २ मा रास्वपाको तर्फबाट रमेश खरेल, एमालेबाट पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगका अनुसार ३ निर्वाचन क्षेत्रमा जम्मा तिनिधिसभामा रिक्त तीन पदका लागि उपनिर्वाचनमा ६९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये चितवन–२ र बारा–२ मा २÷२ गरी चार उम्मदेवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । त्यसो हुँदा अहिले ६५ उम्मेदवार आपसमा प्रतिष्पर्दा गरिरहेका छन् । आयोगका अनुसार चितवन–२ मा २२, बारा–२ मा ३४ र तनहुँ–१ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।