November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

दुर्घटना हुनबाट बच्यो फ्लाई दुबईको जहाज

काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन् । एउटा इन्जिनबाटै दुबई पुग्न सकिने भनेपछि जहाज नेपालबाट दुबई उडेको हो।

Advertisement

सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन् । एयर अरबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन् । अहिले यी सबै जहाजहरू ल्यान्ड गर्नेक्रममा छन् ।