काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भुइँचालोमा परेर मृत्यु हुनेको संख्या कम्तिमा ३५ पुगेको छ । भुइँचालोमा जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ।
सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उपमेयर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जना र रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ।
त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका-७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको हो ।
जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको र जिल्ला अस्पतालमा सयौंको संख्यामा घाइतेहरू रहेको स्रोतले जनाएको छ ।
तत्काल भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको पनि स्रोतले जनाएको छ ।