काठमाडौं । भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् ।
अहिलेसम्म भूकम्पमा परी कम्तिमा ५५ जना घाइते भएको विवरण प्राप्त एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।
त्यस्तै, रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
शुक्रबार राति पौने १२ बजे जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा त्यस क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जाने भएका छन्।
यसअघि भूकम्पमा परेकाहरूको उद्दार र राहतका लागि जुट्न तिनै तहका निकायलाई निर्देशन दिएका प्रधानमन्त्री प्रचण्ड खोज, उद्धार र उपचार व्यवस्थाका लागि आफैं प्रभावित क्षेत्रमा जान लागेका हुन्।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।