काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई तीनदिन कर्मचारीहरुले कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यालय प्रवेशमा रोक लगाउने बताएका हुन् ।
आन्दोलनरत कर्मचारीहरूले कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।
आन्दोलनकारीहरूले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज कात्तिक १९ गते ११:१५ बजेदेखि १२:१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२:४५ बजेसम्म र पर्सि ११:१५ बजेदेखि १:१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गरिने जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हकहितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए ।यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने आन्दोलनकारीहरूले जनाएका छन् ।