काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको दाबी गरेका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकलाई सम्बोधन गर्दै उनले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका हुन् ।
भुकम्पपछि सरकारले कत्तिपनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्यांकेट र खाद्यान्न पठाएको र पठाउने क्रम जारी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको उनको स्पष्टीकरण थियो ।
यस्तै, आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधि पनि उपलब्ध गराइएको पनि उनले जानकारी दिए । उनले भने, ‘हामीले एक क्षण, एक सेकेन्ड ढिलो नगरीकन हामीले पठाउन सकिने सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्यांकेट, खाद्यान्न पठाइराखेका छौँ । राहतमा हाम्रो ध्यान गएको छ । हामीले हाम्रो साधन, स्रोतले सामानहरुको हकमा हामीले व्यवस्था गरेका छौँ तर पुर्याउने साधन त चाहियो । स्काइ भ्यान प्रयोग गरेपनि सुर्खेतसम्म जान्छ, सबै ठाउँमा जाँदैन । सुर्खेतबाट क्यारी गर्नैपर्यो । सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्ल्यांकेट पुर्याउन सक्ने स्थितिमा हुँदैनौँ ।’
भूकम्प प्रभावित क्षेत्रमा अब अस्थायी आवासको निर्माणमा ढिलाइ गर्न नहुने भन्नेमा सरकार अगाडि बढेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।