November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नवराज विकसहित ६ जनाको अभिभावकहरूद्वारा धन्यवाद र्‍याली

काठमाडौं । रुकुम पश्चिमको सोतीमा ज्यान गुमाएका नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उनीहरुका अभिभावकहरुले धन्यवाद र्‍याली निकालेका छन् । न्यायको पक्षमा फैसला भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौंमा धन्यवाद र्‍याली निकालेका हुन् ।

दिउँसो २ बजे भृकुटमण्डपबाट निकालिएको र्‍याली रत्नपार्कस्थित शान्तिवाटिका पुगेर धन्यवाद–सभामा परिणत भएको छ । उक्त र्‍यालीमा पीडितका परिवार, मानव अधिकारकर्मी, दलित अधिकारकर्मी र कानुन व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले ‘छोरा मरे, न्याय मरेन’ लेखिएको ब्यानरसहित र्‍याली गरेका थिए ।

जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक ०७७ जेठ १० गते आफ्नी मल्ल थरकी प्रेमिकालाई लिन भन्दै आफ्ना साथीहरूसँग रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ को सोती पुगेका थिए । सोही क्रममा त्यहाँका स्थानीयले प्रतिकार गर्दा नवराजसँगै २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही मारिएका थिए ।

Advertisement

उक्त घटनामा संलग्न रहेको अभियोगमा रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । अदालतको सो फैसलालाई सम्मान गर्दै पीडित परिवारले काठमाडौंमा र्‍याली निकालेर धन्यवाद ज्ञापन गरेका हुन् ।