काठमाडौं । भरतपुरको मिलन चोक नजिकै कल्भर्टमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलाको शव भारतीयको विहार राज्यको भएको खुलेको छ । दुवैलाई महिलाका पतिले मारेको खुलासा भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार मृतकहरू भारतको मोतिहारी, फूलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् । भारतका विहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारणका ३३ वर्षीय अखिलेश भगतले मंसिर २ गते उनीहरूको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले मंसिर ६ गते राति पौने १ बजेतिर मिलनचोकस्थित कल्भर्टमुनि केरुङ्गा घोलमा शंकास्पद रूपमा रहेका २ वटा शव फेला पारेको थियो । मुखमा टेप लगाइएको, घाँटीमा सलजस्तो रातो कपडाले कसेको, दुबै शवको दुबै हात, खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई जुटको बोराभित्र कोचिएको थियो ।
मंसिर २ गते ऋषभ र सन्जुलाई भगतले उनीहरू बस्ने गरेको भाडाको कोठामा नै कर्तव्य गरी एउटा शवलाई ३ गते बिहान पौने १ बजेतिर र अर्कोलाई सवा १ बजेतिर साइकलमा लगेर लुकाएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । भगतले शव लगेको दृष्य प्रहरीले सिसिटिभी फुटेजमा फेला पारेको थियो ।
मृतकहरू नेपालमा तरकारी तथा फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए । उनीहरू अन्तिमपटक गत दसैंपछि नेपाल आएर चितवनको मिलनचोकस्थित मृतक पुरूषको काका नाता पर्नेको कोठा नजिकै कोठा लिएर बसेका थिए ।
आफ्नी श्रीमतीसँग सम्बन्ध रहेको थाहा पाएपछि अखिलेश र ऋषभको बेलाबेलामा झगडा हुने गरेको भेटिएको र त्यही कारण अखिलेशले उनीहरूको हत्या गरेको हुनसक्ने अधिकारी प्रहरीको भनाइ छ ।
दुई जनाको हत्या गरी फरार भएका अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन् । भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा उनीमाथि भारतको प्रहरी थाना सुगौलीमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआइआर दर्ता भई पुस १६ गते प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा राखिएको छ ।
नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा उनलाई अनुसन्धान तथा सोधपुछ गर्दा उनले चितवनमा ऋषभकुमार कुशवाह र आफ्नी श्रीमतीको हत्या गरेर भागेको स्वीकार गरेको सिआइबीका प्रवक्ता अधिकारीले बताए। बताइएको छ ।