November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काटिने- कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काटिने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएकाहरू विद्युत महसुल तिर्नुको विकल्प नभएको बताएका हुन् ।

घिसिङले अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकाहरूसँग महसुल उठाउनुको विकल्प प्राधीकरणसँग पनि नरहेको बताएका हुन् ।

२०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनताले लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा विद्युत उपभोग गरेको बताउँदै उनले त्यो बेला लिएको विद्युतको महसुल तिर्नैपर्ने स्पष्ट पारे ।

Advertisement

विगतमा कोभिडको र अन्य कारण देखाएर विद्युत महसुल नतिर्ने उद्योगको विद्युत लाइन नकाटिएको तर अब भने प्राधीकरणसँग महसुल उठाउनुको विकल्प नभएको र महसुल नतिरून्जेलसम्म लाइन काटिने उनले पनि बताए । उनले भने, ‘सबै निकाय र अख्तियारले पनि सुझावको रूपमा महसुल उठाउन लेखेर दिएको छ । अब विद्युत प्राधीकरणलाई महसुल उठाउने बाहेक विकल्प छैन, हामी उठाउँछौं ।’ उनले विद्युत नियमन आयोगबाट पनि चिठी लेखेर महसुल उठाउन भनेको पनि बताए ।

घिसिङले विद्यु्त सबस्टेसनबाट सिधै उद्योगमा पठाएको डेडिकेटेड लाइन र एउटा सबस्टेसनबाट अर्को सबस्टेसन जाने लाइनको बीचबाट उद्योगलाई दिइएको ट्रंक लाइनको विद्यु्त उपभोगको महसुल तिराउनका लागि प्राधीकरणले २०७६ सालमा नै पहल लिएको घिसिङको भनाइ थियो । त्यतिबेला काठमाडौंलगायतका सहरका अस्पताललगायतका क्षेत्रमा पनि लोडसेडिङको अवस्थामा राख्दा पनि उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्यु्त दिइएको उनले उल्लेख गरे ।

घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काट्न लागिएको पनि बताएका छन् । उनले पछिल्लो २ हप्तामा २४ उद्योगको लाइन काटिएको जानकारी दिए ।