काठमाडौं । लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरिरहेका छन् ।
सुरक्षा निकायको कमजोरीपछि सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापासँग संघीय संसदभित्र प्रदर्शनकारी पसेको घटनाबारे सोधपुछ गरिरहेको स्रोतले बताएको छ ।
यस्तै, मन्त्रालयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र र मन्त्रालयका सचिव, सहसचिवहरू पनि उपस्थित छन् ।
गृहमन्त्री श्रेष्ठले अबदेखि यस्ता घटनामा कमीकमजोरी हुन नदिन पनि निर्देशन दिएको स्रोतले बताएको छ।
सोमबार दिउँसो लघुवित्तका ऋणीहरू सुरक्षा निकायको आँखा छलेर संघीय संसद भवन परिसरभित्र पसेका थिए । उनीहरूले त्यहाँ पुगेर नाराबाजी समेत गरेका थिए । संघीय संसद भवन परिसरबाट ४८ जना महिला र एक जना पुरूष गरी जम्मा ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।