काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार भएका छन् । उनलाई थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट भर्खरै एसएसपी सानुराम भट्टराईको नेतृत्वमा गएको प्रहरीले गिरफ्तार गरेको हो ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको उनलाई जनकपुर लैजाने तयारी गरिएको बुझिएको छ ।
गिरफ्तारी परेका अध्यक्ष सिरोहियाले आफ्नो गिरफ्तारी नागरिकता छानवीन भन्दा पनि गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणबारे समाचार लेखेको कारण भएको बताए।
यसअघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।
सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमार्फत अध्यक्ष सिरोहियाले भनेका थिए, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ ।’