काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिजनेसविहीन रहेको भन्दै समितिमा रहेका विधेयक चाँडो अघि बढाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्ट्राचार निवारणसम्बन्धी विधेयक पनि छिटो अघि बढाउन आग्रह गरेका छन् ।
ओली प्रधानमन्त्री भएपछि पहिलोपटक समितिको बैठकमा पुगेका हुन् । समितिले भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनसम्बन्धी विधेयकमाथिको छलफलमा डाकेपछि प्रधानमन्त्री समितिमा पुगेका उनले भने, “बिजनेस नपाएर संसद् बस्ने कि नबस्ने भन्ने अवस्था भएको छ । सबै विधेयक लगातार छलफल गरेर अघि बढाऔँ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी विधेयक ढिला नगरौँ । समितिमा विधेयक नअल्झियोस् । ताकी फूल हाउसले पनि बिजनेस पाओस् ।”
उनले अन्य समितिमा रहेका विधेयकहरू पनि चाँडो पास होउन भन्दै आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउन आवश्यक रहेको बताउदै सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । उनले भने, “भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो, यसलाई नियन्त्रण गर्छौँ।”