November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

जेन-जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढी क्षति

काठमाडमौं । जेन–जी आन्दोलनको क्रममा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्षति भएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको प्रतिवेदन प्रतिवेदनका अनुसार ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा समिति गरेको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेको प्रतिवेदन सारांशकाअनुसार जेन–जी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको छ ।

Advertisement

यस्तै, २ हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन् भने १३ देखि २८ वर्षका १४३३ जना घाइते छन् ।

समग्र भौतिक क्षति हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्यांकन छ। जसमध्ये प्रभावित निकाय÷संस्था २१६८ छन् ।

२६७१ भवनहरुमा क्षति पुगेको छ । जसमा क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ ।

यस्तै, १२ हजार ६५९ वटा सवारी साधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँबराबरको नोक्सान भएको छ भने सरकारी÷सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर छ ।

सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।