नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन लागेको विषयमा कडा आपत्ति प्रकट गरेका छन्। उनले लोकतन्त्र केवल प्रक्रिया मात्र नभई मूलतः प्रवृत्ति भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले चालेको यो कदम अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।
सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको विषयलाई उनले दुःखद र गम्भीर भनेका छन्। मुलुकलाई तत्काल आवश्यक परेको विशेष परिस्थितिमा मात्र अध्यादेश ल्याउन सकिने संवैधानिक व्यवस्था भए पनि अहिले त्यस्तो कुनै जरुरी नरहेको उनले दाबी गरेका छन्।
सरकारले छिटो अधिवेशनमा गएर विधेयकहरू पारित गर्न सक्ने अवस्था हुँदाहुँदै प्रमुख प्रतिपक्ष र अन्य राजनीतिक दलहरूसँग सामान्य परामर्श समेत नगरी हतारमा अध्यादेश ल्याउन खोज्नु बलमिच्याइँ र सार्वभौम संसदको अपमान भएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास गरेको र संसदको गरिमाको किन अवमूल्यन गरेको भनी प्रश्न गरेका छन्। यस कदमप्रति उनले प्रष्ट शब्दमा विमति जनाएका छन्।
संवैधानिक परिषद् सम्बन्धी विधेयक र सहकारी ऐन संशोधन जस्ता गम्भीर विषयहरूलाई नयाँ संसदबाट संवाद, सहमति र संसदीय प्रक्रियामार्फत टुङ्ग्याउनु पर्नेमा सरकारले अध्यादेशको बाटो रोज्नु सर्वथा अनुचित रहेको उनले बताएका छन्।
सरकारलाई रचनात्मक सहयोग गर्न नेपाली कांग्रेस संसदीय दल सदैव खुला रहे पनि लोकतन्त्र, जनअभिमत र संविधानको मर्म मिच्ने कार्यलाई प्रतिपक्षले कुनै पनि हालतमा सफल हुन नदिने दृढ प्रतिबद्धता उनले व्यक्त गरेका छन्।