काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमा वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा पछिल्लो चार वर्षदेखि वृद्धि नगरिएको कर्मचारीहरूको तलब बढाउने निर्णय गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले वाचन गरेको बजेटमा कर्मचारीहरूको ‘सुरु स्केल’ मा १० प्रतिशत वृद्धि गरिने उल्लेख छ । यसका अतिरिक्त, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको थप १० प्रतिशत ‘मासिक प्रोत्साहन भत्ता’ को व्यवस्था गरिने अर्थमन्त्री डा. वाग्लेले बताए ।
बजारमा महँगी १७.३ प्रतिशतले बढेको र राष्ट्रसेवक कर्मचारीले त्यही अनुसार सम्मानपूर्वक बाच्न पाउने गरी तलबमानमा वृद्धि गरेको जानकारी दिए ।
यो वृद्धि गरिएको तलबमान आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमा बताए ।
यो नयाँ व्यवस्था लागू भएपछि कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशत वृद्धि हुने देखिन्छ ।
वृद्धिसँगै तल्लो तहका कर्मचारीको न्यूनतम पारिश्रमिक ग्रेडसहित करिब ४० हजार रुपैयाँ र माथिल्लो तहको तलब १ लाख रुपैयाँभन्दा बढी कायम हुने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणका क्रममा बताए ।
तलबमानको यो वृद्धिले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, परराष्ट्र सेवा, सामुदायिक विद्यालयका शिक्षकहरू, विभिन्न संस्थानका सबै तहका राष्ट्रसेवकहरूलाई समेट्नेछ ।
महँगी भत्तालाई हालकै अवस्थामा निरन्तरता दिँदै कार्यसम्पादनमा आधारित भत्ता थप गरिएपछि कर्मचारीहरूको जीवनयापन सहज हुने र सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक सुधार आउने सरकारको अपेक्षा रहेको अर्थमन्त्री डा. वाग्लेले बताए ।
अर्थ मन्त्रालयले यस सम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेपछि कुन तहको तलबमान कति हुन्छ त्यो निक्र्यौल हुनेछ ।