November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

सुकुमवासी बस्ती हटाउन सेना परिचालन गरिएको छैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई परिचालन नगरिएको बताएका छन् ।

विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको रक्षा मन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा वाग्लेले सुकुमवासी बस्तीमा डोजर चलाउन वा बस्ती खाली गराउन सेनालाई कुनै पनि स्थानमा नखटाइएको दाबी गरेका हुन् ।

सदनमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुमवासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको छैन । यस विषयमा बाहिर आएका चर्चामा सत्यता छैन ।’

Advertisement

उनले जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रियामा नेपाल प्रहरीले मात्र भूमिका निर्वाह गरेको जानकारी दिए । मन्त्री वाग्लेका अनुसार स्थानीय तहको आग्रह र समन्वयमा प्रहरीले सुरक्षा प्रबन्ध मिलाउने र सहजीकरण गर्ने कार्य मात्र गर्दै आएको छ ।

‘जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ उनले थपे ।